लिखुले जित्यो राष्ट्रपति रनिङ सिल्डको उपाधि

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १२:४७

चौघडा, नुवाकोट जिल्लामा सम्पन्न बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा आइतबारदेखि सुरु भएर मंगलबार सम्पन्न भएको प्रतियोगितामा सबैभन्दा धेरै विधामा उपाधि जितेर लिखुले रनिङ सिल्डको उपाधि जितेको हो । प्रतियोगितामा प्रथम भएको लिखु गाउँपालिकाले २२ स्वर्ण, १४ रजत र पाँच कांस्य पदक जितेको छ । लिखु गाउँपालिका-४ को क्षेत्रपाल माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्ण, पाँच रजत र १० कांस्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्ण, नौ रजत र आठ कांस्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिए । कार्यक्रममा उपाधि विजेता पालिका र उत्कृष्ट भएका खेलाडी विद्यार्थीलाई कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महतले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरूलाई शारीरिक तन्तुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडीको रूपमा उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने प्रमुख अतिथि महतले बताए । जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको राजनीतिक गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकोमा काङ्ग्रेसको चलाखीले पुनः लयमा ल्याउन सफल भएकोसमेत उनले सो कार्यक्रममा दाबी गरे । ‘सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा पुस १० पछि नैराश्यता छाएको थियो,’ पूर्वमन्त्रीसमेत रहेका डा. महतले भन्नुभयो, ‘राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनाको सम्बोधन गर्दै अगाडितर्फ लागेको छ । आशा गरौँ यो निश्चित गन्तव्यमा पुग्नेछ ।’ पालिकास्तरीय प्रतिस्पर्धाबाट छानिएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्दै अब नुवाकोट जिल्ला खेलकुद विकास समितिको तर्फबाट बागमती प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राईले जानकारी दिए । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी र एथलेक्टिक्स विभिन्न ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।