एक वर्षमा ५१६ सुत्केरीलाई पोषणभत्ता

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १३:२४

विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिकाले एक वर्षको अवधिमा पाँच सय १६ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को साउनबाट लागू हुने गरी ल्याएको सुत्केरी महिलालाई पोषणभत्ता वितरण कार्यक्रमअन्तर्गत गत वर्ष पाँच सय १६ जनालाई पोषण खर्च वितरण गरेको हो ।

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलालाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानाको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए । सुत्केरी अवस्थामा महिलाका लागि पौष्टिक आहारको महत्वबारे सचेतना जनाउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमअन्तर्गत नगरपालिकाले विदुर नगरपालिकाको १३ वटै वडामा स्थायी बसोवास गर्ने सुत्केरी महिलालाई तीन हजार रुपैयाँ भत्ता वितरण गरेको हो । नगरपालिका स्वास्थ्य शाखामार्फत वडा-वडाको स्वास्थ्य संस्थासँगको समन्वयमा सुत्केरी महिलाको विवरण सङ्कलन गरी ६-६ महिनामा भत्ता वितरण गर्ने गरेको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए । चालू आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्म तीन सय ४२ जना सुत्केरी महिलालाई भत्ता वितरण गरिएकोसमेत उनले जानकारी दिए ।

उनका अनुसार गत आवको कार्यक्रमअनुसार चालू आवमा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत संस्थागत सुत्केरी र गर्भवती आमाका लागि पोषण प्याकेजसमेत चालू आर्थिक वर्षको साउनदेखि हालसम्म पाँच सय ६१ जनालाई वितरण गरिएको छ । सुरक्षित मातृत्व दिगोपना तथा गुणस्तरीय सेवा समानताअनुरूप गर्भवती सुत्केरीसँग नगरप्रमुख तथा उपप्रमुख कार्यक्रम शीर्षक रहेको पोषण प्याकेज लिन महिला सुत्केरी भएपछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत वितरण गरिँदै आएको छ ।