विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ को स्वयम्भूपरिसरमा रहेको लिच्छविकालीन सम्पदाको भौगर्भिक अध्ययन सुरु भएको छ । लिच्छविकालीन समयमा निर्माण गरिएका विहार, स्वयम्भू, चैत्य जीर्ण भएसँगै उत्खनन् अध्ययन अन्वेषणसहित पुरातात्विक स्वरूपमा पुनर्निर्माणका लागि पुरातत्व विभागले अध्ययन थालेको हो । अध्ययनका लागि दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेको संरचनाको जानकारी सङ्कलन गर्ने बताइएको छ ।
भूगर्भ विभागबाट खटिएको विदेशीसहितको टोलीले भौगर्भिक अध्ययन गत हप्ताबाट सुरु गरेको हो । तीन सय वर्षभन्दा पुरानो संरचनासहित स्वयम्भू, चैत्य र गुम्बा रहेको स्थानमा अध्ययन सुरु भइरहेको छ । चैत्य र गुम्बापरिसर क्षेत्रमा विभागको टोलीले स्क्यान गरेर फर्किएको छ । जमिनमुनि भग्नावशेषको रूपमा केही छन् कि भनेर अध्ययन सुरु गरेको हो । चैत्यको पुनर्निर्माण तथा गुम्बाको निर्माणका लागि विदुर नगरपालिकाले समेत सहकार्य गर्ने जनाएको छ । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको चैत्यको पुनर्निर्माणअघि त्यस स्थानमा भौगर्भिक अध्ययन भएको हो । विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थका अनुसार जमिनमुनि दुई मिटर तलसम्म भग्नावशेषको रूपमा केही भए अध्ययनबाट पत्ता लाग्ने छ । अध्ययनको पूर्ण तथ्याङ्क आइसकेपछि मात्रै चैत्यको पुनर्निर्माण सुरु गर्ने नगरपालिकाको योजना रहेको छ ।
करिब तीन सय वर्षभन्दा पुरानो रहेको चैत्य र गुम्बालाई बुद्ध सर्किटसँग जोड्ने नगरपालिकाले योजना बनाएको छ । लुम्बिनीको चैत्य र मायादेवी मन्दिर, काठमाडांैको स्वयम्भू र नुवाकोटको स्वयम्भूलाई एक–आपसमा जोडर बौद्ध सर्किटको रूपमा पर्यटन प्रवद्र्धन गर्ने योजना विदुर नगरपालिकाको रहेको छ । अध्ययन सम्पन्न भएसँगै चैत्यको पुनर्निर्माण गर्ने र पहँुचमार्गको विस्तार गरी बौद्ध सर्किटको रूपमा धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिने योजना रहेको विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले बताए । चैत्यको पुनर्निर्माण तथा ऐतिहासिक स्थलको संरक्षणका लागि नगरपालिका तयार रहेको उनले बताए ।






प्रतिक्रिया