कालिकामा युवा नमुना गाउँसभाको अभ्यास

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १३:५३
  • सुनील श्रेष्ठ

धुन्चे, युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कालिका गाउँपालिकामा नमुना युवा संसद् अभ्यासअन्तर्गत गाउँसभा सम्पन्न भएको छ ।

‘समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ कालिका गाउँपालिकास्तरीय नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो । युवाहरूले गत बिहीबार फागुन ११ गते कालिका गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् । सभाहलको ड्यासमा अध्यक्षको बायाँतिर उपाध्यक्ष, दायाँतिर सचिव र अगाडि गाउँपालिकाका सदस्य बसेका थिए भने देब्रेतिर सञ्चारकर्मी लहरै बसेका थिए । गाउँसभा बैठकजस्तै देखिने यो दृश्य भने कालिका गाउँ कार्यपालिकाको कार्यालयले पहिलोपटक आयोजना गरेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको हो ।

नवनिर्वाचित अध्यक्षमा कृतिका न्यौपाने र उपाध्यक्षमा सारू मगरले भूमिका निर्वाह गरेका थिए । यसैगरी कवितादास परियार, सञ्जिता तामाङ, रोहित देवकोटा, विमला तामाङ, वीरबहादुर तामाङ, रोजिना पौडेल, समीर न्यौपाने, पूजा तामाङ, समीर मोक्तान, आदित्य नगरकोटी, भक्तबहादुर तामाङलगायतले गाउँपालिकाको कार्यपालिका सदस्यको भूमिका निर्वाह गरेका थिए । गाउँसभा अभ्यासको क्रममा निर्वाचित सदस्यले रसुवा जिल्ला पर्यटकीय क्षेत्रको विस्तारमा होमस्टे, पर्यटकीय मार्ग, जिल्लामै उत्पादित जडीबुटीको प्रशोधन र बजारको व्यवस्था, कृषिमा युवा जागरुक, स्वरोजगार, घरेलु व्यवसाय, वैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको सिर्जनालगायतका सुझाव राख्नुको साथै गाउँपालिकाको आर्थिक नीति, विधेयक, करलगायतबारे संशोधन मागसहित सुझाव पेस गरेका थिए ।

गाउँसभामा सबैको प्रतिनिधित्व हुने गरी समावेशी कार्यपालिका सदस्य गठन गरिएको थियो । सहभागीले मर्यादित भएर आफ्ना कुरा कसरी राख्नेलगायतका विषयमा कुरा सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाइ भएको बताएका छन् । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखेका थिए । अध्यक्ष न्यौपानेले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै गाउँपालिकालाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि पालिकाले यो कार्यक्रम गरेको जानकारी दिए । भविष्यमा युवाले नै नेतृत्व गर्ने भएकाले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको गाउँपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कुमारी सरिता जोशीले बताईन् ।

नमुना युवा संसद् अभ्यासद्वारा कालिका गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित प्रीतिका न्यौपानेले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले युवा अवस्थामा यस्तोखाले तालिम प्रयोगात्मक हुँदा युवालाई गाउँपालिकाको नीति निर्माणमा समेत सहज भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन् । यस्तै, सभामा गाउँपालिकाकी उपाध्यक्ष कञ्चना सारु मगरले वार्षिक बजेट वक्तव्य पेस गरेकी थिइन् । गाउँपालिकाभित्रका १६ वर्ष देखि २४ वर्ष उमेरका १५ जना तन्नेरी युवाले फागुन ८ देखि ११ गतेसम्म गाउँपालिका चलाउने गाउँसभा अभ्यास गरेका थिए । नमुना संसद् अभ्यासमा गाउँपालिकाकी उपाध्यक्ष मीरा तामाङ, प्रमुख प्रशासकीय अधिकृत शीतलबहादुर रावल, वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।