एसइईमा जिल्ला प्रथम भए ५० हजार नगद

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:१०

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिका-२ ले एसइई परीक्षा ०८० मा जिल्ला प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । कालिका गाउँपालिका-२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेले कालिका हिमालयन माविबाट एसइई दिने ६८ जना छात्रछात्रालाई सोमबार शैक्षिक सामग्री वितरण गर्दै उक्त घोषणा गरेका हुन् ।

एसइई परीक्षा ०७९ ब्याचका ६८ जना विद्यार्थीलाई एक-एकवटा क्याल्कुलेटर, एक-एकवटा जोमेट्रिक बक्स, स्केल, पाँचवटा कलमसहित शैक्षिक सामग्री वितरण गरेका हुन् । आजका विद्यार्थी देशको भोलिका कणर्धार भएको र उनीहरूको हौसला बढाउन विद्यालयको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै मायाको चिनोसमेत प्रदान गरिएको थियो । वडाध्यक्ष न्यौपानेले आफ्नो व्यक्तिगत खर्चमा ६८ जना विद्यार्थीलाई जनही आठ सय रुपैयाँबराबरको शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । शैक्षिक सामग्री वितरण कार्यक्रममा कालिका गाउँपालिका-२ का शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्षले कालिका हिमालयबाट यस वर्षदेखि एसइर्ई दिने विद्यार्थी जिल्ला प्रथम भएमा विद्यार्थीलाई ५० हजारको पुरस्कार दिने घोषणा गरेको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले बताए ।