नुवाकोटमा तेक्वान्दो खेल प्रवेशको २९ वर्ष

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:१७

बट्टार, मार्सल आर्टस् खेल समूहअन्तर्गत युवाहरूको सबैभन्दा लोकप्रिय खेल तेक्वान्दो नुवाकोट भित्रिएको २९ वर्ष पुगेको छ । ०४६ सालको राजनीतिक परिवर्तनअघि तेक्वान्दो खेल जिल्लामा लुकिछिपी खेलिँदै आएको थियो । ०४९ सालमा तेक्वान्दो सङ्घ नुवाकोटमा स्थापना भएपछि खेलको विकास र विस्तार अघि बढेको हो ।

जिल्लामा तेक्वान्दो खेल भित्रिएको २९ वर्ष पुगेको छ । यो खेल स्थापना गराउन तत्कालीन प्रशिक्षक हरिहर पाण्डे, दलबहादुर तामाङ र श्रीकृष्ण केसी रहेका थिए । उनीहरूले सुरुमा ३३ जना खेलाडीबाट यो खेल नुवाकोटमा सुरु गरेका थिए । त्यसबेला फैसिंह तामाङ, शिवलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, वासु महर्जन, महेन्द्रसिंह लामा, रमेश श्रेष्ठ, रत्न श्रेष्ठलगायत ३३ जना खेलाडी प्रशिक्षण थिए । ०४९ फागुन २८ गते तेक्वान्दो सङ्घ स्थापनापछि खेलले वैधानिकता पाएको संस्थापक खेलाडी हरिहर पाण्डेले जानकारी दिए । सङ्घ स्थापनाको अवसरमा शनिबार कार्यक्रम गरेर संस्थापक खेलाडी र यसको विकास र विस्तारमा योगदान गर्ने व्यक्ति र संस्थाको स्मरण गरिएको थियो । सङ्घको २९औँ वार्षिकोत्सव समारोहलाई बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले उद्घाटन गर्दै तेक्वान्दो खेलले नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । यो खेलको विकास, विस्तार र संरक्षणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउँदै प्रदेश सभा सदस्य महतले खेलले अनुशासित, स्वावलम्बी र कर्मठ नागरिक उत्पादन गर्ने बताए ।

सो कार्यक्रम विभिन्न तौल समूहका खेलाडीले केही खेल प्रदर्शनसमेत गरेका थिए । नुवाकोटमा तेक्वान्दो खेल सुरु भएको २९ वर्षमा चार सय ७६ जना खेलाडीले ब्ल्याक बेल्ट लिएको, १५ हजारभन्दा बढी यो खेलमा आबद्ध भएको, ४० वटा सरकारी तथा निजी विद्यालयमा खेल विस्तार भएर प्रशिक्षण भइरहेको सो अवसरमा संस्थापक खेलाडी एवम् प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिए । जिल्लामा दुईवटा कभर्ड हल विदुर नगरपालिकाको बट्टार र सूर्यगढी गाउँपालिकाको हल्देकालिकामा निर्माण भइसकेको छ । सो वार्षिकोत्सव कार्यक्रममा खेलको प्रशिक्षण भइरहेको विद्यालय र राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिएको थियो । नुवाकोटबाट तेक्वान्दोका खेलाडीले २९ वर्षको अवधिमा ओलम्पिक गेममा एकजनाले, एसियाली प्रतियोगितामा दुईजना, दक्षिण एसियाली प्रतियोगितामा एक दर्जन, अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईजना र राष्ट्रिय प्रतियोगितामा दुई दर्जनभन्दा बढी खेलाडीले सहभागिता जनाइसकेको सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले जानकारी दिए ।

सङ्घले जिल्लामा मध्याञ्चल क्षेत्रीय प्रतियोगिता चारवटा, बागमती प्रदेशस्तरीय एउटा, राष्ट्रिय आमन्त्रण प्रतियोगिता चारवटा, अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता तीनवटा गरिसकेकोसमेत उनले जानकारी दिए । सङ्घको वार्षिकोत्सव समारोह समितिका संयोजक अशोक थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख एवम् नुवाकोटमा तेक्वान्दो खेलका संस्थापक प्रशिक्षक दलबहादुर तामाङ, विदुर नगरपालिका– २ का अध्यक्ष दीपक कायस्थ, नुवाकोट उद्योग वाणिज्य सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य, नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठलगायतले सङ्घको स्थापनादेखि अहिलेसम्मको अवस्थाबारे बोलेका थिए ।