भूमिअधिकार मञ्चको अध्यक्षमा पुनः न्यौपाने

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:३८
  • सरस्वती न्यौपाने

धुन्चे, जिल्ला भूमिअधिकार मञ्च रसुवाको पाँचौँ जिल्ला सम्मेलन गत सोमबार सम्पन्न भएको छ । सो सम्मेलनले भूमिअधिकार मञ्च रसुवाका संस्थापक अध्यक्ष एवम् कालिका गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको छ । अध्यक्ष न्यौपानेको नेतृत्वमा १५ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

सम्मेलनले उपाध्यक्षमा टंकबहादुर नगरकोटी, सचिवमा गोपिनी परियार, कोषाध्यक्षमा शान्ताकुमारी गलान र सहसचिवमा भूमिनन्द न्यौपाने रहेका छन् । यस्तै, सदस्यमा पुतलीमाया लो, चित्रकुमारी भट्ट न्यौपाने, भुवनेश्वरी न्यौपाने लामिछाने, मोहनप्रसाद न्यौपाने, श्याममाया घलेनी, खिलप्रसाद आचार्य, सागबहादुर तामाङ, कामिनी तामाङ, सुशीला नेपाली, पदेन सदस्यमा हेमनाथ खतिवडा रहेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको शाखा सङ्गठित भई रसुवा जिल्ला मञ्च २०६२ सालदेखि सक्रिय भई गुठी, बिर्ता र सुकुमबासी तथा भूमि अधिकारबाट वञ्चित किसानलाई सङ्गठित गरी हक अधिकारका लागि आवाज उठाई भूमिमा महिला अधिकार स्थापित गर्नका लागि संयुक्त लालपुर्जा निर्माण अभियान गर्नेलगायतका विषयमा यस मञ्चको उद्देश्य रहेको छ ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाको अभियान सफल रूपमा अघि बढ्नुमा यस मञ्चको अभियानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न निकायको सहयोगी भूमिका महत्वपूर्ण रहेको छ । जिल्ला तहमा मञ्चको सुरुवात गराउन र मञ्चले उठाएको सवालगत अभियानलाई सुरुवातदेखि नै सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र नेपाली कृषि वन प्रतिष्ठानले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । विगतका वर्षमा विभिन्न समयमा नेपाल कृषि वन प्रतिष्ठान, कर्डएड नेपाल, परिवर्तन पात्र, माइती नेपाललगायतका संस्था, तत्कालीन धैबुङ, भोर्ले, लहरेपौवा गाविसले सहयोग गरेका थिए । कालिका गाउँपालिकाले पनि सहयोग गर्दै आएको थियो । मञ्चको जिल्ला तहको अभियानमा सुरुवातदेखि हालसम्म निरन्तर रूपमा विभिन्न माध्यमबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सहयोग गर्दै आइरहेको छ ।