नुवाकोट आदर्श र त्रिभुवन त्रिशूलीमा नेविसङ्घ नेतृत्वको गठबन्धन विजयी

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार ११:१८

बट्टार, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत रहेको नुवाकोटका दुई ठूला क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अनेरास्ववियु क्रान्तिकारी गठबन्धनको प्यानल विजयी भएको छ ।

आइतबार भएको निर्वाचनको सम्पन्न मतगणनाको अन्तिम नतिजामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस त्रिशूली दुवैमा नेविसङ्घ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनको प्यानल विजयी भएको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनको तर्फबाट अध्यक्षमा नेविसङ्घका उम्मेदवार रविन दाहाल तीन सय ४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्याशी स्वतन्त्र समूहका उम्मेदवार रिजन प्रधानले एक सय ७३, अनेरास्ववियुका फैसल दिनले एक सय ६७ र अखिल क्रान्तिकारी (विप्लव)का मिलन तामाङले ६ मत प्राप्त गरे । पदाधिकारी र सदस्यमा पनि संयुक्त गठबन्धनको प्यानलका उम्मेदवार विजयी भएको प्रमुख निर्वाचन अधिकृत सरोज बोगटीले जानकारी दिए । उनका अनुसार सचिवमा राजेन्द्र पनेरू र कोषाध्यक्षमा मनोज पौडेल विजयी भए । सदस्यमा अस्विन रिमाल, सन्तोष पन्त, सुप्रिया पौडेल, जनक भट्ट, अस्मिता पौडेल, सञ्जिता रिमाल र प्रदीप ढुङ्गाना निर्वाचित भए । बट्टार क्याम्पसमा कुल विद्यार्थी मतदाता एक हजार एक सय ४३ जना रहेकोमा सात सय ४१ जनाले मतदान गरेका थिए ।

त्यसैगरी, जिल्लाकोे दोस्रो ठूलो क्याम्पस त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा पनि नेविसङ्घ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । स्ववियुको अध्यक्षमा नेविसङ्घका उम्मेदवार किरण मग्राती एक सय ४७ मत ल्याएर विजयी भए । उनका प्रत्याशी अखिल क्रान्तिकारी (विप्लव)सँगको समर्थनमा अनेरास्ववियुका उम्मेदवार समीर तामाङले ८३ मत पाए । त्रिशूली क्याम्पसमा नेविसङ्घ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनको प्यानल नै विजयी भएको छ । सचिवमा रिसाल तामाङ, कोषाध्यक्षमा उर्मिला तामाङ, सदस्यमा सन्तोषी सुर्खेती, अशोक अधिकारी, सजना खाती र तुलसा अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए । नुवाकोटमा त्रिविको सम्बन्धनप्राप्त डेढ दर्जन क्याम्पस तथा कलेजमध्ये दुई क्याम्पसमा निर्वाचनमार्फत स्ववियु चुनाव गरिएको हो भने बाँकीमा विद्यार्थी सङ्ख्या दुई सयभन्दा कम भएकाले सहमतिमा स्ववियु काउन्सिल गठन गरिएको तथा गर्ने प्रक्रियामा रहेको छ ।