शारीरिक अशक्त रोजिनाले घरमै नागरिकता पाइन्

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार ११:२७

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिका-३ की पूर्ण रूपमा शारीरिक अशक्त रहेकी रोजिना बजगाईंले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र शनिबार प्राप्त गरेकी छिन् ।

शारीरिक रूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ताबापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट वञ्चित हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै पुगेर नागकिरता प्रदान गरेको हो । ०६२ साल मङ्सिर ५ गते जन्मिएकी बजगाईं नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेसँगै उनले मासिक चार हजार रुपैयाँ पाउँदै आएको सुविधालाई नियमित गराउन सहज भएको उनका बुबा कान्छो बजगाईंले बताए । जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएकी रोजिना बेसुरमा जताततै हिँडडुल गर्ने भएकाले रोजिनालाई घरको पिँढीमा बनाएको काठको घेराबारमा राख्ने गरिएको उनकी आमा गीता बजगाईंले जानकारी दिइन् ।

उनीहरूको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले पालनपोषणमा आर्थिक अभाव रहेको छ भने सामाजिक सुरक्षाबापत सरकारले उपलब्ध गराउँदै आएको रकमले निकै सहयोग पुग्ने गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर भएपछि उक्त सामाजिक सुरक्षा भत्ताबापतको रकम लिन नागरिकता अनिवार्य गरिएको छ । सोही कारण उनी अबदेखि नागरिकता नभएमा सामाजिक सुरक्षा भत्ताबापतको रकमबाट वञ्चित हुने भएसँगै उक्त वडाको वडाध्यक्ष कौशिला पुडासैनीले दिएको सूचनाको आधारमा नुवाकोट प्रशासनले शनिबार बिदाको दिन भए पनि घरमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको नुवाकोटको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । नागरिकता प्रदान गर्न सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीसहित जिल्ला प्रशासन कार्यालयबाट रमेशजंग पाण्डे र रामचन्द्र पण्डित बेलकोटगढी नगरपालिका-३ स्थित रोजिना बजगाईंको घरमा नै पगेका थिए । े