उपभोक्ता अधिकार दिवसमा सचेतनामूलक ¥याली मनाइयो

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:१२

विदुर, उपभोक्ता अधिकार सम्बन्धी जानकारी गराउँदै विश्व उपभोक्ता अधिकार दिवस चैत १ गते नुवाकोटमा मनाइयो । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको सहजीकरणमा उपभोक्ता, बजार र बिक्रेतालाई सचेत गर्ने उद्देश्यले विदुर नगरपालिका-४ विदुरचोक हुँदै ढुङ्गेबाट लोकतान्त्रिक चौतारीसम्म ¥यालीसहित कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त ¥याली लोकतान्त्रिक चौतारोमा आएर समापन भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । जिल्लाको सदरमुकाम क्षेत्र र ढुङ्गेबजार क्षेत्रका व्यवसायी बिक्रेतालाई जानकारी गराउँदै दिवस सम्पन्न भएको छ । हरेक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । प्रायः बजार अनुगमनलाई तीव्रता दिने जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र स्थानीय सरकारले बेलाबेलामा बजार अनुगमन गरिरहेका छन् । बजार अनुगमनलाई मात्रै जोड दिनुभन्दा पनि कहिलेकाहीँ बजार र बिक्रेताको क्षमता विकासका लागि सचेतनामूलक कार्यक्रम गरौँ भन्ने हेतुले जिल्लास्थित सबै कार्यालय र स्थानीय संघसंस्थाको सहभागितामा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रजिअ वेदनिधि अधिकारीले जानकारी दिए । उपभोक्ता, बजार र बिक्रेतालाई सचेत गर्ने उद्देश्यले दिवसको अवसरमा बजार क्षेत्रमा ¥याली गरिएको उनले बताए ।

नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ । त्यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगायत प्रत्याभूत गरिएको छ, तर कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ । बजार, यातायात, विद्युत्, खानेपानी, बैंक तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो छ । सन् १९६२ को मार्चका दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताको हित रक्षा नगरेर अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन्, भन्दै ‘बिल अफ राइट’को घोषणा गरेका थिए । त्यसैको सम्झनामा मार्च १५ मा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्रसङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ सम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रूपमा मनाउन आह्वान गर्दै आएको छ ।