सीतागुफा ओझेलमा

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:२९
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा पर्यटकीय सम्भावना रहेका अनगिन्ती प्रकृतिनिर्मित स्थल रहेका छन् । त्यसमध्येको एक हो गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डा गाउँको पुछारमा रहेको सीतागुफा । उक्त गुफाबारे स्थानीयबाहेक अरू बेखबर हुँदा ओझेलमा परेको हो ।

बोकेझुण्डाका स्थानीय समाजसेवी एवम् शिक्षक राम ग्याग्बो घलेका अनुसार पासाङल्हामु राजमार्ग बन्नुभन्दा पहिले सीता गुफाको आड भएर हिँड्ने मूलबाटो हो । यही बाटो भएर काठमाडौं जाने-आउने गरिन्थ्यो र ओदानमा दाउरा राखेर मात्रै हिँड्ने गरिन्थ्यो । परापूर्वकालमा खेनडोल्मा आनीहरूका तीनजना दिदिबहिनी यस ठाउँमा ध्यान गरेर बस्दथे । उनीहरूमध्ये एकजनाको नाम सीता थियो । त्यही भएर सीतागुफा भनिएको हो । तीनजना आनीहरू यस ठाउँमा बिस्कुन सुकाउँथे, अँगेनामा आगो फुक्दथे, ठूलो ढुङ्गामा घाम ताप्दथे, त्यो अहिलेसम्म पनि छ । मानिस पासाङल्हामु राजमार्ग बनेपछि गाडीमा हिँड्न थालेपछि कोही हिँड्दैनन् । यो बाटो पहिले त राजा, मन्त्रीलगायत स्थानीयस्तरका मानिस हिँड्ने बाटो हो । यो पहिलेको मूलबाटो बीचमा पर्ने भएकाले अहिले पनि देखिन्छ । रसुवा जिल्लाभित्र यस्तो लुकेका थुप्रै महत्वपूर्ण ठाउँ देख्न सकिन्छ । यस्तो ओझेलमा परेको ठाउँलाई उचित प्रचार-प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको हब बन्न सक्छ र स्थानीयले पनि रोजगारीसमेत पाउँथे र होमस्टेको समेत राम्रो ठाउँ बन्थ्यो, तर कसैलाई चासो भएन ।