रुडेकको सहकार्यमा पञ्चकन्या गाउँपालिकामा बालबालिकाको जन्मदर्ता अभियान

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:३६

लाँकुरीभञ्ज्याङ, नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेसनल नेपाल तथा ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल) को सहकार्यमा गाउँपालिकाको वडा नम्बर-१, २ मा फागुन ३० र चैत १ गते जन्मदर्ता अभियान सम्पन्न भएको छ ।

दुईदिने उक्त अभियानमा वडाध्यक्ष, वडासचिव, वडासदस्य, सम्बन्धित विद्यालयको प्रधानाध्यापक तथा जन्म दर्ता गर्न बाँकी बालबालिकाका अभिभावक र रुडेक नेपालका प्रतिनिधिको उपस्थिति रहेको थियो । अभियानको दौरान इन्द्रायणी मावि बानियाँटार, आँपचौर आ.वि. आँपचौर, शान्ति विद्या मन्दिर आ.वि., राष्ट्रिय मा.वि. तथा कालिका मा.वि. कविलासमा भर्ना भएका बालबालिकाका अभिभावकसँग अन्तक्रिया समेत गरिएको थियो । अन्तक्रिया कार्यक्रममा जन्मदर्ता गर्न बाँकी रहेको ५८ जना अभिभावकसँग छलफल गरी जन्मदर्ता नगरेको कारण खोजी गर्दै आवश्यक प्रक्रिया पु¥याएर जन्मदर्ता गर्न सहजीकरण गरिएकोे थियो । सो कार्यक्रममा प्रक्रियाको सहजीकरण वडा नम्बर-१ की सचिव रोशनी पराजुली तथा वडा नम्बर २ का सचिव विष्णुमणि घिमिरेले गरेका थिए ।

विशेषगरी उमेर नपुगी विवाह गरेका जोडी, विवाहपछि सम्बन्धमा खटपट परेका जोडी तथा अन्य विविध कारणले विवाह दर्ता नभएका अभिभावकबाट कानुनी उल्झन तथा अन्य डरका कारण बालबालिकाको जन्म दर्ता नगरेको अन्तक्र्रियामा सहभागीले बताएको थिए । बालबालिकाले जन्मदर्ता हुन पाउनु उसको नैसर्गिक अधिकार हो र उसले जन्मदर्ता पाउनुपर्छ भन्ने जानकारी अभिभावकलाई सो कार्यक्रममा गराइएको थियो । जन्मदर्ताका लागि आवश्यक प्रक्रियाबारे वडाध्यक्ष र सचिवबाट जानकारी पाएपछि सबै अभिभावकले तत्काल जन्मदर्ता गर्न आवश्यक कागजातसहित वडा कार्यालय आउने प्रतिबद्धता जनाएका थिए । जन्मदर्ता नभएको बालबालिकाको अभिभावकलाई उक्त अभियानमा जोड्न सम्बन्धित विद्यालयले सहयोग गर्ने भएका छन् । यो अभियानबाट व्यक्तिगत घटना ३५ दिनभित्र गर्नुपर्ने रहेछ भन्ने जानकारी पाएको सहभागी अविभावकले बताएका छन् ।