+
Search

ताजा अपडेट +

पपुलर +

डढेलोका कारण बोटबिरुवा नउम्रिएपछि विज्ञको टोलीद्वारा वन व्यवस्थापनको अध्ययन

डढेलोका कारण बोटबिरुवा नउम्रिएपछि विज्ञको टोलीद्वारा वन व्यवस्थापनको अध्ययन
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको उत्तरी क्षेत्रको गत्लाङ वनमा १४ वर्षअगाडि लागेको डढेलोका कारण हालसम्म कुनै पनि बोटबिरुवा उम्रिएन । कुनै पनि बोटबिरुवा नउम्रिएपछि वनस्पति शास्त्रको विज्ञ टोली झिकाई डिभिजन वन कार्यालय रसुवाले वन व्यवस्थापनको अध्ययन सुरु गरिरहेको छ ।

Utsuk Books & Stationery

०६५ सालमा लागेको डढेलोको चपेटामा परी गत्लाङमा रहेको करिब सात सय हेक्टर जमिनमा रहेको जङ्गल नष्ट भएको थियो । डढेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञ टोलीले स्थलगत अध्ययन एवम् माटो परीक्षण गरेको हो । डढेलो लागेको गत्लाङ पाखामा कुहिएको काठ व्यवस्थापनपश्चात् विज्ञको सिफारिसका आधारमा स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपण गरिने वन प्राविधिकले बताएका छन् । स्थानीय बासिन्दाले मसलाका रूपमा प्रयोग गर्ने टिमुर रोपणलाई प्राथमिकता दिने नीतिअनुरूप जिल्ला वन कार्यालय रसुवाले बहुवर्षीय रूपमा २० हजार टिमुरका बिरुवा उत्पादन एवम् वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।

समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा रहेको बोन्जो माने एवम् ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गत्लाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । गत्लाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिँदै डिभिजन वन अधिकृत अनिल रेग्मीले १० सामुदायिक वनमा भने प्राकृतिक रूपको पुनः उत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन गर्न लागिएको बताए । डढेलोको चपेटाकै कारण गत्लाङ पाखामा २५–३० हजारभन्दा बढी ठूल–ठूला सल्लाको बोट नष्ट भएका छन् । नडढेका रूख व्यवस्थापन गर्न वन उपभोक्ता समितिले पहल गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह