०८० मा २६ दिन सार्वजनिक बिदा

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:५४

विदुर, नेपाल सरकारले आगामी वर्ष ०८० सालभरि देशभर र विशेष ठाउँमा लागू हुने गरी सार्वजनिक बिदाको सूची गत हप्ता सार्वजनिक गरेको छ । सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको हो । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।

आगामी ०८० वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते विश्व मजदुर दिवस र वैैशाख २२ गते बुद्धपूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ १४ गते रक्षाबन्धनको र भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको बिदा दिइएको छ । त्यस्तै, असोज ३ गते संविधान दिवस, असोज २८ गते घटस्थापनाको बिदा दिइएको छ भने कात्तिक ४ (फूलपातीदेखि द्वादशीसम्म) देखि ९ गतेसम्म सार्वजनिक बिदा हुनेछ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मीपूजा, म्हपूजा/नेपाल संवत्गो/वद्र्धन पूजा र दुई दिन भाइटीकाको बिदा हुने घोषणा गरिएको छ । यसैगरी, मङ्सिर ३ गते छठपर्व, पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापु दिवस/योमरी पुन्हीको बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसारको बिदा रहनेछ भने माघ १ गते माघीपर्व, माघ २७ गते सोनम ल्होसारको बिदा हुनेछ । फागुन २५ गते महाशिवरात्री र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा घोषणा गरिएको छ । यसबाहेक दिन नतोकी इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयले जनाएको छ । उक्त दुई दिन बिदा इस्लाम धर्मावलम्बीका प्रमुखसँग समन्वय गरेर दिनेसमेत बताइएको छ ।

सरकारले फागुपूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा दिने घोषणा गरेको छ । मन्त्रालयको सूचीअनुसार भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्राको बिदा दिइने उल्लेख छ । सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि हुने घोषणा गरिएको छ । त्यस्तै, महिला कर्मचारीका लागि असोज १ गते तिज र असोज २० गते जितिया पर्वको बिदा हुनेछ । पुस २७ गते पृथ्वीजयन्ती (राष्ट्रिय एकता) दिवसको बिदा घोषणा भएको छ । फागुन २ गते वसन्तपञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा घोषणा भएको छ । गृह मन्त्रालयले भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा उपत्यकाका लागि दिने निर्णय गरेको छ ।

सरकारले यसै वर्षदेखि बिदा दिन सुरु गरेको फागुन १ गते जनयुद्ध दिवसको बिदालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा तोकिएको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती, मङ्सिर ११ गतेको गुरु नानकजयन्तीको बिदा सम्बन्धित धर्मावलम्बीलाई मात्र हुनेछ । यसबाहेक सरकारले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस जेठ २१ गते, निजामती सेवा दिवस भदौ २२ गते र माघ १६ को सहिद दिवस मनाउने तथा ती दिनमा कार्यालय बिदा नहुनेसमेत घोषणा गरेको छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई दृष्टिगत गरेर बढीमा १८ दिन सार्वजनिक बिदाको व्यवस्था र समायोजन गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ । स्थानीय तहले भने स्थानीय पर्वमा बिदा दिन सक्ने व्यवस्था गरिएको छ ।