+
Search

ताजा अपडेट +

पपुलर +

औपचारिकतामै उपभोक्ता दिवस !

औपचारिकतामै उपभोक्ता दिवस !
त्रिशूली प्रवाह
३ साल अगाडी

यस वर्ष पनि विश्व उपभोक्ता अधिकार दिवस चैत १ गते बुधबार अर्थात् मार्च १५ तारिखका दिन नेपालमा विविध कार्यक्रम गरेर मनाइयो । दिवसबारे नागरिकले चासो नराखे पनि सरकारी निकायले केन्द्रदेखि जिल्लासम्म यो दिवसलाई मनाए । दिवस जुन वर्ग र समुदायका लागि हुनुपर्ने हो त्यहाँसम्म नपुगे पनि सम्पन्न भइसकेको छ । देशमा पछिल्लो समय उत्सव, दिवस, पर्वमा सरकारले बिदा दिने संस्कार स्थापित हुँदै जाने र औपचारिकतामै खुम्चिँदै गएको छ । यस वर्ष स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण राष्ट्रिय नारासहित चैत १ गते दिवस मनायो । दिवस मनाउन सरोकारवालाको उपस्थिति देखिँदैन । राष्ट्रले मनाउने उत्सव, दिवस, औपचारिकतामै सीमित हुँदै गइरहेको छ । गणतन्त्र दिवस, प्रजातन्त्र दिवस होस् कि अन्य जनचेतनामूलक दिवस मनाउने जिम्मा सरकारी कार्यालयको मात्र हुने गरेको छ । यस्ता महत्वपूर्ण दिवसमा नागरिक समाज, राजनीतिक दल, नागरिक र अन्य सरोकार राख्नेको सहभागिता र चासो हुन छाडेको छ । दिवस मनाउन सरकारी कर्मचारीको मात्र जिम्मेवारीले गर्दा यस्ता महत्वपूर्ण दिवस औपचारिकतामै सकिएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सन् १८१७ मा संयुक्त राज्य अमेरिकामा एक मुद्दामा प्रधानन्यायाधीश जन मार्सलको न्यायिक व्याख्यामार्फत कुनै पनि वस्तु वा सेवाको खरिद वा उपभोग गर्नुअघि नै सचेत हुनुपर्ने सिद्धान्त प्रतिपादन भएको थियो । सन् १९३२ मा बेलायतको हाउस अफ लर्डस्ले उत्पादित वस्तुको हेलचेक्र्याइँका लागि उत्पादक नै जिम्मेवार हुनुपर्ने मान्यतालाई स्विका¥यो । सन् १९६२ मार्च १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले कङ्ग्रेसमा ‘कस्टमर बिल अफ राइट’ पेस गरी उक्त बिल स्वीकृतपश्चात् उपभोक्ता सन्देश स्वरूप सुरक्षा, सूचना, छनोट र सुनुवाइका चार अधिकार प्रक्षेपण गरिदिएपछि उपभोक्ताका अधिकारको कानुनी व्यवस्थामा विकास भएको पाइन्छ । अमेरिका, बेलायत र केही युरोपेली राष्ट्रबाट उपभोक्ता अधिकारलाई कानुनसम्मत संस्थागत गर्ने काम भए पनि अन्य मुलुकले खासै चासो नदेखाएपछि संयुक्त राष्ट्रसङ्घले ९ अप्रिल १९८५ मा अनुबन्ध नै पारित गर्नुप¥यो । संयुक्त राष्ट्रसङ्घबाट अनुबन्ध पारित भएपछि सदस्य राष्ट्रले विश्वमा मानव अधिकारलाई सम्बोधन गर्ने क्रममा प्रत्येक वर्ष १५ मार्चका दिन संसारभर अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने गरियो । प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्छ । उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री–वितरण गर्ने प्रदायकको हो । वस्तु र सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । बजारले उपभोक्तालाई सम्मान गर्नुपर्छ । उपभोक्तावाद एक सामाजिक र आर्थिक व्यवस्था हो । जसले वस्तु तथा सेवाका क्षेत्र र उपभोक्ताका अधिकारका विषयमा अध्ययन गर्छ । अधिकारको पनि अधिकार अर्थात् जनजीविकाको अधिकार हो उपभोक्ता अधिकार । यस अर्थमा वस्तु तथा सेवाको छनोट, सुनुवाइ, सूचना, क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य र आधारभूत वस्तु तथा सेवामा उपभोक्ताको सहज पहुँचको अधिकार नै उपभोक्ता अधिकार हो ।

उपभोक्ता दिवस त हरेक वर्ष मनाइँदै आएको छ । तर, यो दिवस किन मनाइन्छ, त्योचाहिँ थाहा छैन । अहिले बजारमा बजारभाउ के छ ? बजार कसरी चलेको छ ? त्यो उपभोक्ता दिवस मनाउनेलाई थाहा छैन । उपभोक्तालाई परेको समस्याप्रति राज्य मौन छ । अनि वर्षमा एक दिन उपभोक्ता दिवस मनाएर मात्र हुन्छ ? प्रधानमन्त्री कृषिक्रान्ति गर्छु भन्छन्, तर कृषकलाई दिँदै आएको मल अनुदान कटौती गर्दा गर्व गर्छन् । कृषकले उत्पादन गरेको सागसब्जी, तरकारी र फलफूलले उचित बजार पाउँदैन । भारतलगायत देशबाट विषादी परीक्षण नगरिएका फलफूल, तरकारी तथा खाद्यान्न भित्रिन्छ, त्यसको चेकजाँच गर्न पाइँदैन । यसबारे बोल्नसमेत नसक्ने अवस्थामा नेपाली उपभोक्ता रहेका छन् । त्यति मात्र कहाँ हो र ? कृषकले उत्पादन गरेको वस्तु सही मूल्यमा उपभोक्ताले खरिद गर्न पाउँदैनन् । के यही हो त उपभोक्ताले पाएको सहुलियत ? यही हो त उपभोक्ता दिवसको सार्थकता ? बजारमा खाद्यान्न, हरियो सागसब्जी, गेडागुडी, खानेतेल, मरमसला आदिको भाउ हरेक दिन बढेको छ । उपभोक्ता हित संरक्षण मञ्चलाई अत्तोपत्तो छैन । वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि अनुगमन गर्न भ्याउने कुरै भएन । उपभोक्ता पाइलैपिच्छे ठगिँदै छन् । देश सञ्चालन गरेर बसेकाहरू रमिते भएका छन् । हुनेखानेलाई यो समस्या नहोला, तर हुँदा खानेलाई यसको ठूलो मार परेको छ । दिनभरिको कमाइले बिहान–बेलुकाको छाक नटर्ने अवस्था सिर्जना भएको छ । शिक्षा र औषधोपचारको त कुरै छाडौँ । हरेक उपभोक्ता दिवस मनाइरहँदा राज्य सञ्चालक उपभोक्तालाई परेको समस्याप्रति कहिल्यै चिन्तित भएको देखिएन । अनि यो दिवस मनाउनुको अर्थ रहला ?

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह