६ महिनापछि हिउँदे वर्षा

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १३:३१

विदुर, नुवाकोट जिल्लामा यो वर्ष ६ महिनापछि हिउँदे वर्षा भएको छ । गत असोजको दोस्रो हप्तादेखि वर्षा नभएको नुवाकोटमा आइतबारदेखि वर्षा हुँदा जिल्लाका कृषक हर्षित भएका छन् ।

यो वर्षको हिउँदयाममा यसपटक सबैभन्दा धेरै वर्षा भएसँगै राहत पुगेको छ । आइतबार रातिदेखि सक्रिय भएको मौसम बिहीबारदेखि निष्क्रिय रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति आंशिक बदली भएर सुरु भएको यसपटकको मौसम बदलीमा सोमबार, मंगलबार राति यसपटकको हिउँदयामकै सबैभन्दा धेरै वर्षा भएको थियो भने बुधबार राति पनि आंशिक बदली भएको छ । सुक्खा भएको जमिनको पहिलो सतह भिज्ने गरेर पानी परेसँगै किसानलाई खेतीबाली लगाउनदेखि सबै क्षेत्रमा राहत पुगेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पश्चिमी वायुको प्रभावले आइतबारदेखि सुरु भएको मौसम बिहीबारबाट हट्ने भएको हो । यसपालिको हिउँदयाममा वर्षा नभएको कारण जमिन सुक्खा भएको, पानीको स्रोत सुक्दै गएको, हिउँ नपरेको कारण हिमाल खाली हुँदै गएको, किसानलाई खेती लगाउन सिँचाइको अभाव पुगेको तथा सुक्खायामले गर्मी बढाएको समयमा यसपटकको हिउँदे वर्षाले निकै ठूलो राहतको महसुस गराएको हो ।

पानी परेसँगै बढ्दै गएको तापक्रम क्रमशः घटेर चिसो मौसम भएको छ भने वनजङ्गल क्षेत्रमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । किसानलाई मकै तथा मौसमी-बेमौसमी तरकारी बाली लगाउन सहज भएको छ । हिमाली क्षेत्रमा पर्याप्त हिउँ नपरे पनि सामान्य रूपमा परेको हिउँले रित्तिँदै गएको हिमाल अहिले सेताम्य देखाएको छ । हिउँद सुक्खा भए पनि प्रि–मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेकाले राहत मिलेको हो । अहिलेको पानीले वातावरणमा भइरहेको प्रदूषणसमेत सफा बनाएको छ । वर्षाले किसानलाई खेतीपातीका लागि राहत मिलेको छ भने केही स्थानमा परेको असिनापानीले तरकारी र अहिले फुल्ने समय भएको फलफूललाई भने असर पु¥याएको कृषि प्राविधिकले बताएका छन् ।