+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सवको नाफा १३ लाख

नुवाकोट महोत्सवको नाफा १३ लाख
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ २७ गते शुक्रबारदेखि फागुन १० गते बुधबारसम्म विदुर नगरपालिका– ५ पीपलटारमा सम्पन्न सातौँ नुवाकोट महोत्सवमा १३ लाख नाफा भएको छ । सङ्घले बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको आय–व्यय सार्वजनिक गरेको छ । महोत्सवमा ५० लाख आठ हजार तीन सय ९८ आम्दानी, ३७ लाख ६ हजार पाँच सय ७७ खर्च भएको आय–व्यय विवरणमा उल्लेख छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको महोत्सवको आय-व्यय विवरणअनुसार १३ लाख एक हजार आठ सय २१ नाफा भएको छ ।

०६३ देखि सुरु भएको महोत्सवको यो सातौँ संस्करण हो । १३ दिनसम्म सञ्चालन भएको महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको, तीन करोडभन्दा बढी व्यवसायी कारोबार भएको जानकारी सङ्घका कोषाध्यक्ष दिनेश श्रेष्ठले दिए । महोत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले र समापन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गरेका थिए । ०४५ सालमा स्थापना भएको सङ्घले ०६३ मा पहिलो महोत्सव गरेको थियो । सङ्घका अध्यक्ष एवम् महोत्सव सञ्चालन मूल समितिका संयोजक ताराबहादुर कार्कीको सभापतित्वमा भएको आय–व्यय विवरण सार्वजनिक गरिएको थियो । यसपटक महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको सङ्घका सदस्य एवम् महोत्सवको स्टल व्यवस्थापन उपसमितिका संयोजक मेघनाथ घिमिरेले बताए । महोत्सवमा दुई सय ८० स्टलमध्ये जिल्लाको ५० वटा स्टल रहेकोसमेत उनले बताए ।

जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन, हस्तकला एवम् व्यापार-व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा बाह्य लगानीलाई आकर्षण गर्न महोत्सव केन्द्रित रहेको संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । महोत्सवले आर्थिक गतिविधि चलायमान गराउन र पिपलटारको व्यावसायिक सम्भावनालाई उजागर गर्न सफल भएकोसमेत उनले दाबी गरे । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएकाले ज्येष्ठ नागरिक तथा अपाङ्ग र अशक्तलाई सहज भएको सङ्घको प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । जिल्लामै उत्पादित घरेलु सामग्रीदेखि लघुउद्यमीले उत्पादन गरेका सामग्री यसपटकको महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएकाले ती स्टल अवलोकनकर्ताले विशेष चासो र ध्यान खिचेको, स्थानीय उत्पादनको प्रचार–प्रसार र प्रवद्र्धन भएको सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताइन् । जिल्ला समन्वय समिति नुवाकोटसहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको भए पनि समन्वय समिति र पालिकाको सहयोग महोत्सवमा नभएको सङ्घले बताएको छ । महोत्सवको व्यवस्थापन नारायणी फेयर एक्जिबिसन नेपालको र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेका थिए ।

महोत्सवमा नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद नारायणप्रसाद खतिवडा, संविधानसभाका सदस्यहरू राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, गोविन्द नेपाली, जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सभाका सदस्य एवम् नेपाली काङ्ग्रेसका नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्यद्वय बद्री मैनाली र हीरानाथ खतिवडा, पूर्वअर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रदेश सभाका सदस्य एवम् निवर्तमान उपसभामुख राधिका तामाङ, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् नेपाली कङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह तामाङ, प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानालगायतले महोत्सवको अवलोकनसहित फरक–फरक दिनको आतिथ्यता ग्रहण गर्दै महोत्सव सफल पार्न सहयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह