Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढीको १११ मेगावाट विद्युत् असारदेखि राष्ट्रिय प्रसारणमा थपिने

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले यसै आर्थिक वर्षभित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । ०७६ सालमै निर्माण सक्ने लक्ष्यका साथ उत्तरी रसुवाको टिमुरे क्षेत्रमा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको आयोजना निर्माण ०७० माघबाट सुरु भएको थियो । उक्त लक्ष्यलाई भूकम्प, नाकाबन्दीलगायत समस्याले निर्माणमा अवरोध भएकाले समय थपिएको आयोजना प्रमुख नरनाथ न्यौपानेले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद, बिक्री सम्झौता (पिपिए) गर्ने समयमा निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख लागत रहेको आयोजना निर्माण सकिने बेलासम्म १७ अर्ब एक करोड लागत पुग्ने अनुमान गरिएको छ । आयोजनाको लागतमा ब्याजसमेत जोड्दा उत्पादनको चरणसम्म यसको कुल लागत २१ अर्ब १५ करोड रुपैयाँ पुग्ने कम्पनीले बताएको छ । विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको कारण पनि आयोजना निर्माणको लागत अनुमान बढेको आयोजना प्रमुख न्यौपानेले बताए । ‘भूकम्प र नाकाबन्दीमा इन्धन अभाव हुँदा काम गर्न सकिएन,’ न्यौपानेले भने, ‘अब त्यस्तो समस्या छैन । सबै काम तीव्र गतिमा भइरहेको छ । असारमा उत्पादन सुरु गर्ने गरी कार्य अगाडि बढिरहेको छ ।’ आयोजनामा जडित तीनवटा टर्वाइनबाट असारमा परीक्षण सुरु गर्न सकिने गरी काम भइरहेको उनको भनाइ छ । ‘तीनवटै युनिटबाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राविधिक परीक्षणमा खटिएका छन्,’ न्यौपानेले भने ।

प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी तथा पहुँचमार्गमा गइरहेको पहिरोलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपानेको दाबी छ । रसुवाको भिरपाखोमा नमुनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपछि प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले यस आयोजना निर्माणको अगुवाइ गरिरहेको छ । तर, आयोजनाको जटिल भौगोलिक अवस्था र सडकको पहुँच अभावलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपाने बताउँछन् । उपकरण जडानमा छोटो अवधिमै उल्लेख्य प्रगति हासिल गर्न सफल भएका कारण पनि यसै आर्थिक वर्षमा उत्पादन गर्ने अवस्था प्रबल रहेको उनको भनाइ छ । भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ सर्चट्यांक, पेनस्टक, टेलरेस सुरुङ र भोटेकोसीबाट पानीसँगै सुरुङमा पस्ने बालुवा थिग्य्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम करिब सकिएको न्यौपानेले जनाए ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको ‘प्रसारण हब’मा लैजान १० किलोमिटर लामो आन्तरिक प्रसारण लाइन निर्माण पनि सँगसँगै गरिरहेको उनको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण र रसुवाका स्थानीय निकाय संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । स्वदेशी पुँजीअन्तर्गत ५१ प्रतिशत संस्थापक सेयरधनी समूहको र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको छ । व्यापारिक विद्युत् उत्पादनपछि जलविद्युत् आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन भई वार्षिक तीन अर्ब २५ करोड आम्दानी हुने न्यौपानेको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह