उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा नुवाकोटबाट कार्कीको उम्मेदवारी

  • त्रिशूली प्रवाह
  • १६ चैत्र २०७९, बिहीबार १२:१७

विदुर, ३० लाखभन्दा बढी उद्योगी-व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन अधिवेशन २००९ चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ । अधिवेशनले नयाँ कार्यकारिणी समितिको निर्वाचन गर्नेछ । यस अधिवेशनले महासंघको भावी नेतृत्व चयन गर्ने भएकाले उद्योगी व्यवसायीदेखि राजनीतिक दल र सरकारले विशेष चासो लिइरहेका छन् ।

यही चैत २९ गते हुने निर्वाचनबाट महासङ्घको कार्यकारिणी समितिमा आठजना पदाधिकारी र ६४ जना सदस्य निर्वाचित हुनेछन् । महासङ्घको कार्यकारिणी सदस्य पदमा नुवाकोटका उद्योगी–व्यवसायी एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका बहालवाला अध्यक्ष ताराबहादुर कार्कीले जिल्ला तथा नगर उद्योग वाणिज्य खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कार्की ०६१ सालदेखि नुवाकोट उद्योग वाणिज्य सङ्घमा सक्रिय छन् । सङ्घको ०६५ मा भएको अधिवेशनबाट सदस्य, ०६९ मा प्रथम उपाध्यक्ष, ०७२ र ०७५ मा अध्यक्षमा निर्वाचित कार्की हाल नुवाकोट उद्योग वाणिज्य सङ्घको अध्यक्ष रहेका छन् । जिल्लाको खाद्य किराना व्यवसायका अग्रणी कार्की कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेर जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको पदाधिकारीसँग भेटघाट गर्न देश-दौडाहामा व्यस्त रहेका छन् । महासङ्घमा एक सय २१ जिल्ला नगर उद्योग वाणिज्य सङ्घ, एक सय २३ वस्तुगत सङ्घ र एक हजार सात सय ३२ एसोसिएट्स सदस्य तथा २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ मतदाता रहेका छन् । निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएट्स सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घको मतभार ३० प्रतिशत तथा वस्तुगत सङ्घको मतभार २० प्रतिशत रहेको छ । दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका कार्कीलाई देशभरका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका अधिकांश अध्यक्षसँग राम्रो सम्बन्ध र गाढा परिचय रहेको कारण निर्वाचनमा विजयी हुन सहज देखिन्छ ।