- लक्ष्मी तामाङ
त्रिशूलीबजार, नुवाकोट जिल्लामा सुनचाँदी व्यवसायीले सुनको चरम अभाव भोगिरहेका छन् । सुनको मूल्य बढे पनि माग अत्यधिक भएपछि जिल्लाका व्यवसायी पुरानो सुन खरिद गरेर जिल्लाको माग जेनतेन धानिरहेका छन् । नुवाकोटमा व्यवसायीलाई सुनको अभाव भएको शनिबार सम्पन्न नुवाकोट सुनचाँदी व्यवसायी सङ्घको नवौँ र १०औँ वार्षिक साधारणसभामा व्यवसायीले बताएका छन् ।
साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गर्दै सुनचाँदी व्यवसायलाई घरेलु उद्योगको रूपमा विकास गर्न सकिने बताए । सुनचाँदी व्यवसायलाई घरेलु उद्योगको रूपमा विकास गरेर स्थानीय युवायुवतीलाई सीपमूलक तालिम दिएर लाभ लिन सकिने उनले बताए । परम्परागत गरगहना बनाउन स्थानीय कालिगढ निर्भर हुन सक्ने गरी प्रशिक्षण दिन नगरपालिकाले सङ्घसँग समन्वय गरेर सहयोग गर्न सकिने उनले बताए । सङ्घका अध्यक्ष भीमराज बज्राचार्यको सभापतित्वमा भएको उक्त साधारणसभाको सञ्चालन कोषाध्यक्ष रमेश विश्वकर्माले गरेका थिए । सङ्घ ०५३ सालमा स्थापना भएको, तर ०७० सालमा जिल्ला प्रशासन कार्यालयमा सङ्घ-संस्था ऐनअन्तर्गत दर्ता भएको सचिव सविन अमात्यले बताए । कोरोनाको कारण गत दुई वर्ष सङ्घको साधारणसभा हुन सकेको थिएन । सङ्घमा ४४ जना साधारण सदस्य, दुई एसोसिएट्ससहित ४६ सदस्य र १३ कार्यसमिति रहेको छ । सङ्घले बैंकमार्फत गत आ.व. ०७७/७८ र ०७८/७९ मा २३ केजी सुन प्राप्त भई दामासाहीले बाँडेको अध्यक्ष भीमराज बज्राचार्यले जानकारी दिए । जिल्लामा मासिक पाँच केजी सुनको माग रहे पनि बैंकमार्फत एक केजी मात्र पाइरहेकोसमेत उनले बताए ।
सम्मानित र मर्यादित सुनचाँदी व्यवसायले वार्षिक लाखौँ राजस्व बुझाए पनि सरकारले व्यवसायीको समस्या समाधान गर्न खासै चासो र पहल नगरेको नुवाकोट उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्ष एवम् सुनचाँदी व्यवसायी सङ्घ नुवाकोटको वरिष्ठ सल्लाहकार शरण उत्सुक सापकोटाले बताए । सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरूले मात्र आयात र बिक्री गर्न पाउने नियन्त्रण बजार व्यवस्था गरेर व्यवसायीलाई अपमान गरिरहेकोसमेत उनको भनाए छ । साधारणसभाको सफलताका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य र नुवाकोट चेम्बर अफ कमर्सका महासचिव केशव मिश्रले शुभकामना व्यक्त गरेका थिए । सो सभामा कार्यसमितिका सदस्य ईश्वर सुनारले सुनको मूल्य बढे पनि माग नघटेको, तर सुन खरिद गर्न नपाएको गुनासो गरे । सङ्घको गत दुई आवको प्रगति प्रतिवेदन, वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन साधारणसभाले छलफलसहित पारित गरेको उपाध्यक्ष प्रदीप शाक्यले बताए ।






प्रतिक्रिया