+
Search

ताजा अपडेट +

पपुलर +

एसइई परीक्षा भोलिदेखि नियमित परीक्षार्थी घटे, ग्रेडवृद्धि बढे बागमतीमा सबैभन्दा बढी काठमाडौंमा, कम रसुवामा

एसइई परीक्षा भोलिदेखि नियमित परीक्षार्थी घटे, ग्रेडवृद्धि बढे बागमतीमा सबैभन्दा बढी काठमाडौंमा, कम रसुवामा
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरु हुँदै छ । नुवाकोटमा यस वर्ष एसइईका परीक्षार्थी समग्रमा बढे पनि नियमिततर्फ भने घटेका छन् । गत ०७८ मा एसइई दिने परीक्षार्थीको सङ्ख्या सबै गरेर चार हजार दुई सय ५२ रहेकोमा यस वर्ष चार हजार दुई सय ९७ रहेको छ । यो सङ्ख्या गत वर्षको भन्दा ४५ ले बढी हो । त्यसैगरी, बागमती प्रदेशबाट यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार पाँच सय ७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६ सय २६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका अनुसार काठमाडौं जिल्लामा एक सय २३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र छन् ।

जिल्लाका निजी र सरकारी गरी एक सय ४७ विद्यालयका साधारणधारतर्फका तीन हजार नौ सय ५८, प्राविधिकधारतर्फका एक सय ४९ जना र ग्रेडवृद्धितर्फका एक सय ९४ जना गरी चार हजार तीन सय एकजनाले परीक्षाका लागि फाराम भरेका थिए । परीक्षाका लागि फाराम भर्नेमध्ये चारजना परीक्षार्थी हाल अन्यत्र र सम्पर्कबाहिर रहेकाले राष्ट्रिय परीक्षा बोर्डले अयोग्यमा राखेर हटाएको छ । यस वर्ष एसइई परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । २४ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी महादेव मावि बेलकोटगढी नगरपालिका रातमाटे केन्द्रबाट दुई सय ६६ परीक्षार्थी र सबैभन्दा कम किस्पाङ गाउँपालिका-२ फिकुरीको ज्ञानज्योति मावि परीक्षा केन्द्रमा ८१ जना परीक्षार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जानकारी दिएको छ । गत वर्ष र यस वर्ष प्राविधिकधारतर्फबाट एसइई दिने परीक्षार्थीको सङ्ख्या बराबरी रहेको छ । गत वर्ष र यस वर्ष प्राविधिकधारतर्फका एक सय ४९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । गत वर्षभन्दा यस वर्ष ग्रेडवृद्धिका लागि परीक्षार्थीको सङ्ख्या बढेको छ । ०७८ मा ग्रेडवृद्धिका परीक्षार्थी ३० जना रहेकोमा यस वर्ष एक सय ९४ रहेको जानकारी शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले दिएको छ ।

त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या गत वर्षभन्दा घटेको जानकारी दिएको छ । यस प्रदेशबाट ग्रेडवृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी एसइईमा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा झन्डै ६ हजार घटेका छन् । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका अनुसार गत वर्ष एसइई परीक्षामा प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार ६ सय २५ परीक्षार्थी सहभागी भएकामा यो वर्ष एक लाख एक हजार सात सय ३३ परीक्षार्थी सहभागी हुँदै छन् । निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार यस प्रदेशबाट एसइई परीक्षार्थीको सङ्ख्या घटेको पाइए पनि परीक्षार्थीको सङ्ख्या घट्नुको कारण भने अझै यकिन नभएको जानकारी दिए । भोलि चैत १७ देखि २९ सम्म हुने एसइई परीक्षाका लागि प्रदेशभर चार सय ३४ केन्द्र कायम भएको छ । यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार पाँच सय ७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६ सय २६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । निर्देशनालयका अनुसार काठमाडौं जिल्लामा एक सय २३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र छन् । परीक्षार्थी र भूगोलका आधारमा परीक्षा केन्द्र तय गरिएको जनाइएको छ । २३ परीक्षा केन्द्र रहेको भक्तपुर जिल्लाबाट पाँच हजार आठ सय पाँच जना, ३५ परीक्षा केन्द्र रहेको ललितपुरबाट नौ हजार आठ सय ९९ जना, ४७ परीक्षा केन्द्र रहेको काभ्रेबाट ६ हजार चार सय ३६ जना, २४ परीक्षा केन्द्र रहेको सिन्धुपाल्चोकबाट चार हजार नौ सय ८५ जना र २४ परीक्षा केन्द्र रहेको नुवाकोट जिल्लाबाट चार हजार तीन सय परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदै छन् ।

त्यस्तै, २६ परीक्षा केन्द्र कायम गरिएको धादिङ जिल्लाबाट पाँच हजार तीन सय ८६, २५ परीक्षा केन्द्र रहेको मकवानपुरबाट ६ हजार तीन सय ३६, ४२ परीक्षा केन्द्र रहेको चितवनबाट १० हजार आठ सय ५६, २२ परीक्षा केन्द्र रहेको रामेछापबाट तीन हजार दुई सय २५, १९ परीक्षा केन्द्र रहेको दोलखाबाट तीन हजार ६२ र २६ परीक्षा केन्द्र रहेको सिन्धुली जिल्लाबाट पाँच हजार दुई सय ४१ विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने भएका छन् । शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले निर्देशनालयले एसइई परीक्षाको उत्तरपुस्तिका छपाइ, व्यवस्थापन, केन्द्र निर्धारण, परीक्षा केन्द्र सञ्चालन गर्न केन्द्राध्यक्षको नियुक्ति र परीक्षा व्यवस्थापन एवम् सञ्चालनलगायतका काम गरिसकेको जानकारी दिए । उनले राष्ट्रिय परीक्षा बोर्डसँगको समन्वयमा उत्तरपुस्तिका परीक्षण केन्द्रको अनुगमन, निरीक्षण र समन्वयको काम गर्ने बताउँदै एसइई परीक्षा सञ्चालनको अधिकार प्रदेशमातहत आइसके पनि सातै प्रदेशमा संरचना नभएको कारण बोर्डमार्फत नै सञ्चालन हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह