बेत्रावती, सामाजिक न्यायको पक्षमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिकालाई उभ्याउन पालिकाभित्र रहेका मेलमिलापकर्तालाई तीनदिने तालिम पालिकाले दिएको छ । तालिम चैत ९ देखि ११ गतेसम्म सञ्चालन भएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गठित न्यायिक समिति तथा वडास्तरमा आएका नयाँ मेलमिलापकर्तालाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरणसम्बन्धी विषयमा प्रशिक्षण दिएको पालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक चमेली गुरुङले बताइन् । न्यायिक प्रक्रिया बिनाभेदभाव, प्रभावरहित र स्वच्छ होस् भन्नका लागि मेलमिलापकर्तालाई आधारभूतदेखि विशेष प्रकारको तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकामा विवाद मिलाउन प्रत्येक वडामा न्यायिक समिति गठन गरिएको छ । वडामा मिल्न नसकेका मुद्दा पालिकामा ल्याएर छलफल गर्न र मिलाउन नेपालको संविधानमा व्यवस्था भएबमोजिम उपाध्यक्ष गुरुङ संयोजकत्वमा पालिकास्तरीय न्यायिक समिति गठन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष गुरुङले सङ्घीय संरचनाअन्तर्गत मेलमिलापकर्ताको अवधारणाअनुसार न्यायिक कार्य सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रममा बताएकी छिन् । उनले न्यायिक कार्य सम्पादनमा मेलमिलापकर्ताको योगदान रहे तापनि आफूलाई वकिल नसम्झन सहभागी मेलमिलापकर्तालाई अनुरोध गरेकी छिन् । स्थानीय सञ्चालन ऐन र नियमावलीले दिएका अधिकार मेलमिलापकर्ताले अनुशरण अध्ययन गर्दै कार्य सम्पादन गर्न उनले जोड दिएकी छिन् । स्थानीय तहलाई प्राप्त अधिकार र दायित्वको प्रभावकारी कार्यान्वयनमा तालिमले महत्वपूर्ण योगदान पुग्ने तालिमका सहभागीले बताएका छन् । मेलमिलाप तथा मेलमिलापको माध्यमबाट विवाद समाधान, न्याय निरुपणमार्फत विवाद समाधन, न्यायिक समिति अभ्यास, फैसला कार्यान्वयन, पुनरावेदनलगायतका बारेमा सहभागीले ज्ञान लिएका छन् । आफूहरूलाई कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा असहज भएको अवस्थामा अब तालिमपछि भने केही सहजता भएको सहभागी सुमित्रा न्यौपानले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् ।
विवादको साटो, मेलमिलापको बाटो’ भन्ने नाराका साथ सुरु तालिममा विवाद, मेलमिलापको पद्धति, मेलमिलापसम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनोट, मेलमिलापकर्ताका गुण र मेलमिलापका आचारसंहिता, सहमतीय निकासलगायतका विविध पाटोमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण अधिवक्ता कविता पाण्डेले गरेकी थिइन् भने तालिममा वडा नम्बर– १ का वडाध्यक्ष मारसिंह तामाङ, वडा नम्बर– ३ का वडाध्यक्ष लालबहादुर तामाङ र ५ नम्बर वडाध्यक्ष यमनाथ आचार्यलगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया