+
Search

ताजा अपडेट +

पपुलर +

बैंकका प्रबन्धकसँग डेपुटी गभर्नरको छलफल जिल्लामा निक्षेपभन्दा लगानी बढी

त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोट जिल्लामा १९ वटा वाणिज्य बैंक, पाँचवटा विकास बैंक र एउटा फाइनान्स गरी २५ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेका छन् । २१ वटा वाणिज्य बैंकमध्ये लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक १९ वटै बैंकको शाखा नुवाकोट जिल्लामा सञ्चालनमा रहेका छन् । जिल्लाको वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे शुक्रबार नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर बमबहादुर मिश्रले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका प्रबन्धक बोलाएर छलफल गर्दै आफ्ना निक्षेपकर्तालाई भरोसा दिलाउने काम गर्न आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले बैंक तथा वित्तीय संस्था जिल्लाका प्रबन्धकहरूलाई निक्षेपकर्तालाई भरोसा दिलाउने गरी फैलिएको अफवाहको समयमा उपचार गर्न सक्रिय भएर कार्य गर्न आग्रह गरे । सो छलफलमा बैंकको निष्क्रिय कर्जा, कर्जा असुली, वर्तमान कारोबारको अवस्थाबारे छलफल गरेका थिए । छलफलमा सहभागी एक प्रबन्धकले बताएअनुसार डेपुटी गभर्नरको खास चासो कर्जा असुली, निक्षेपको अवस्था र निष्क्रिय कर्जामाथि रहेको थियो । छलफलमा सबै बैंकका प्रबन्धकले नुवाकोट जिल्लामा ऋण लगानी निक्षेपको औसतमा दुई गुणासम्म रहेको जानकारी दिएका थिए । जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाले झन्डै १२ अर्ब लगानी, पाँच अर्ब निक्षेप सङ्कलन गरेको सो छलफलमा जानकारी गराइएको थियो । केन्द्रीय बैंकको सुपरिवेक्षणका आधारमा बैंक स्वास्थ्य सुधारोन्मुख रहेको डेपुटी गभर्नरको भनाइ थियो । उनले भने, ‘जिल्लास्तरमा रहेको समस्या समाधान गर्न लिखित सुझाव पठाउनु सुधारका लागि पहल गर्छु । तपाईंहरूलाई तपाईंको केन्द्रले र हामीले सुपरिवेक्षण गरिरहेका छौँ, बैंकहरूको स्वास्थ्य राम्रो छ, तर बाहिर विभिन्न हल्ला फैलिरहेका छन् त्यसतर्फ ध्यान दिनुहोला ।’ सबै बैंक सक्षम रहेको र बजारमा फैलिएजस्तो खराब अवस्था नरहेको वाणिज्य बैंकका केन्द्रले दाबी गरिरहे पनि खराब कर्जाको अवस्था सन्तोषजनक नरहेकोसमेत डेपुटी गभर्नरले बताए । दक्षिण एसियाका अन्य मुलुकको दाँजोमा बैंकको निष्क्रिय कर्जाको अनुपात सन्तोषजनक रहेकोसमेत वाणिज्य बैंकले दाबी गरिरहेका छन् । राष्ट्र बैंकका अनुसार ०७९ माघमा वाणिज्य बैंकको २.४९ प्रतिशत, विकास बैंकको २.८२ प्रतिशत र फाइनान्स कम्पनीको ७.८२ प्रतिशत खराब कर्जा रहेको छ । जब कि ०७८ माघमा वाणिज्य बैंकको १.१८ प्रतिशत, विकास बैंकको १.४२ प्रतिशत र फाइनान्स कम्पनीको ७.५ प्रतिशत खराब कर्जा रहेको थियो ।

नुवाकोट जिल्लामा पहिलोचोटि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित आर्थिक अनुसन्धान विभागका उच्च अधिकृतसहितको टोलीले बैंकका प्रबन्धकसँग छलफल गरेका छन् । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष ०८०/८१ का लागि पूर्वबजेटकालीन अन्तत्र्रिmया कार्यक्रमको लागि नुवाकोट आएका डेपुटी गभर्नरको टोलीले बैंक प्रबन्धकसँग छलफल गरी आवश्यक निर्देशन दिएको हो । पूर्वबजेटकालीन अन्तक्रिया विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोटलाई बजेट छलफलका लागि छनोट गरेर जिल्लाका सरोकारवालाको सुझाव सङ्कलन भएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिए । उक्त कार्यक्रमको विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले अन्तक्र्रियामा प्राप्त सुझावलाई आगामी बजेटमा समावेश हुन सकोस् भन्दै जिल्लामा पहिलोचोटि केन्द्रीयस्तरको बजेट छलफल हुनु महत्वपूर्ण रहेको बताए । सो कार्यक्रममा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी उपनिर्देशक जयनारायण प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले कार्यपत्र तथा विषयवस्तुको बारेमा जानकारी दिएका थिए । उनले आर्थिक वर्षको चालू सात महिनाको उपभोगीय वस्तुको मूल्यवृद्धिको तथ्याङ्कसमेत सार्वजनिक गर्दै अझ मूल्यवृद्धि हुने जानकारी गराए । बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको माघ महिनासम्म उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४९ प्रतिशत थियो । यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गतका समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

आ.व. ०८०/८१ का लागि पूर्वबजेटकालीन अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले विगतमा ठूलो सहर र औद्योगिक क्षेत्रमा मात्र बजेटकालीन अन्तत्र्रिmया हुँदै आएकोमा गत वर्षदेखि साना र विकट स्थान तथा क्षेत्रमा गएर सरोकारवालासँग छलफल र सुझाव सङ्कलन गर्ने गरेको बताए । नुवाकोट जिल्ला सानो भए पनि आर्थिक र कृषि उत्पादनका लागि महत्वपूर्ण रहेकाले छनोट गरिएको बताए । राष्ट्र बैंकले सरकारको आर्थिक सल्लाहकारको रूपमा मुलुकको समष्टिगत आर्थिक गतिविधि अध्ययन गरी सोको प्रतिवेदन नेपाल सरकारलाई पेस गर्दै आइरहेको छ । त्यसै सन्दर्भमा नुवाकोट आएको राष्ट्र बैंकको टोलीले कृषक, उद्योगी, व्यवसायी, बैंकर्स तथा सरकारी निकायका सरोकारवाला व्यक्तिसँग अन्तत्र्रिmया गरेको थियो । नुवाकोटमा सरोकारवालासँगको अन्तत्र्रिmयाको माध्यमबाट सम्बन्धित क्षेत्रको आर्थिक गतिविधि, प्रमुख सम्भावना, चुनौती एवम् समस्याको साथै उक्त क्षेत्रको समग्र विकासका लागि आवश्यक नीतिगत सुझाव प्राप्त भएकाले आर्थिक वर्ष ०८०÷८१ को बजेट तर्जुमा हुनुपूर्व नेपाल सरकारलाई पूर्वबजेटकालीन प्रतिवेदनमा समावेश गरेर बुझाउने नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका उपनिर्देशक प्रेमप्रसाद आचार्यले कार्यक्रमको समापनमा बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह