विदुर, ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नुवाकोटमा रहेका सहकारी संस्थाका प्रतिनिधिलाई ‘सहकारी संस्थाको विकासमा नेतृत्वको भूमिका विषयक’ गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला सहकारी सङ्घ नुवाकोटले ६६औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना र राष्ट्रिय सहकारी बैंक लिमिटेड विदुरको सहआयोजनामा गरिएको गोष्ठीमा सहकारी संस्थासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिएको छ भने उत्कृष्ट सहकारी, सञ्चालक र सहकारी अभियन्तालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा सहकारीविज्ञको रूपमा कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत सहसचिव कृष्णप्रसाद पुडासैनीले ‘सहकारी संस्थाको विकासमा नेतृत्वको भूमिका’मा पेस गरेको कार्यपत्रमा जिल्ला सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण श्रेष्ठले टिप्पणी तथा सुझाव पेस गरेका थिए भने राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्टले पेस गरेको ‘सहकारी संस्थाको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष वैकुण्ठ मिश्रले टिप्पणी तथा सुझाव पेस गरेका थिए ।
सो कार्यक्रममा पायोनियर एसोसिएट्स प्रा.लि.का सन्दीप रानाभाटले ‘सहकारीमा डिजिटलाइजेसन’ शीर्षकको कार्यपत्रमा सहकारी संस्थालाई अनलाइन प्रविधि र आधुनिक संरचनातर्फ समावेश हुँदाको फाइदा एवम् उपयोगितालाई प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथथि रहेका विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गोष्ठीको शुभारम्भ गर्दै राज्यको तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी संस्था पनि एक भएकाले सहकारीमार्फत समाजमा आर्थिक रूपान्तरण, महिला सशक्तीकरण तथा उद्यम विकासदेखि बचतको बानी बसाल्न पु¥याएको योगदानको प्रशंसा गरे । घरेलु तथा हस्तकलाको उद्यमी बनाउन, व्यापार-व्यवसायदेखि आर्थिक उपार्जन हुने शीर्षकको खर्चमा सघाउ पु¥याउन तथा सहकारीमा आबद्ध भएका सदस्यको दैनिक जीवनको सारथि बन्न नगरप्रमुख राजन श्रेष्ठले सुझाव दिए ।
हरेक वर्ष चैत २० गते सहकारी स्थापना दिवस मनाइने भए पनि जिल्ला सहकारी सङ्घले दिवसलक्षित विभिन्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपाने (गजेन्द्र)ले जानकारी दिए । दिवसकै अवसरका भएको कार्यक्रममा पाँच हजार रुपैयाँ राशि रहेको यो वर्षको सहकारी छात्रवृत्ति च्वाडी पब्लिक मावि विदुर नगरपालिका-५ माझीटारमा कक्षा १२ मा अध्ययरत सबिना राईलाई प्रदान गरिएको छ भने सहकारी अभियन्ता सम्मान जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष वैकुण्ठ मिश्रलाई प्रदान गरिएको छ । उत्कृष्ट सहकारी सञ्चालकमा बट्टार सहकारीका सञ्चालक विजयमानसिंह डङ्गोललाई, उत्कृष्ट व्यवस्थापकमा काफलगेडी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक यमनाथ भट्टलाई र उत्कृष्ट प्रारम्भिक सहकारी संस्थाबाट शिवालय बचत तथा ऋण सहकारी संस्था ककनीलाई सम्मान गरिएको जिल्ला सहकारी सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए ।






प्रतिक्रिया