सहरकेन्द्रित सहकारीले आर्थिक उत्पादन मात्र गरिरहेका छन्

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार ११:३९

पूर्णलाल श्रेष्ठ, पूर्वअध्यक्ष
जिल्ला सहकारी सङ्घ नुवाकोट

विदुर, सहकारी स्थापना दिवसको अवसरमा गत हप्ता नुवाकोटमा विविध कार्यक्रम गरी सहकारीको विकृति र विसङ्गति अन्त्य गर्ने सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । नुवाकोट जिल्लामा जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठले सहकारीमा सेयरधनीको प्रमाणपत्र लिएर मात्र कारोबार गरे सहकारी समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

रेडियो चिम्टेश्वरले सहकारी स्थापना दिवसको अवसरमा आयोजित रेडियो कार्यक्रम ‘सरोकार’ कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष श्रेष्ठले उक्त भनाइ व्यक्त गरेका हुन् । सहकारीमा कारोबार गर्नुभन्दा अघि वा गरेपछि बचतकर्ता, ऋणकर्ताले उक्त सहकारीको सेयर नलिएसम्म कारोबार नगर्न अनुरोध गरेका छन् । सहकारीको सुदृढीकरण र सुरक्षाका लागि सहकारले सहकारीमा अनुदान नदिई सहकारीको उद्देश्यअनुरूप सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे । शीघ्र रूपमा नेतृत्व विकासले गर्दा देशमा सहकारीको वृद्धि विकास आएको र समयमै सरकारले नियमित अनुगमन र कार्यान्वयन नलिँदा सहकारी दुर्घटना पर्ने भएकाले जनतामा समस्या आउने उनले आकलन गरे । झोलामा केन्द्रित सहकारी चौतारामा पैसा उठाउने कार्य नरोकिए सहकारी छिट्टै नै दुर्घटनामा पर्नेछ । सहकारीका निम्न आय भएका सदस्यको प्रतिफल नदेखिएको उनले बताए । सहरकेन्द्रित सहकारीले आर्थिक उत्पादन मात्र गरिरहेको हुनाले दिगो अवधिसम्म फलदायी नहुने उनले बताए ।

आर्थिक उत्पादन मात्र गरिएको सहकारीलाई सरकारले के गर्नुपर्छ भन्ने पत्रकार शक्तिमायाले सोधिएको प्रश्नको उत्तर दिँदै उनले भने, ‘त्यस्ता सहकारीलाई व्यवस्थित ढङ्गले स्थानीय सरकारले मर्जरको कार्यन्वयन प्रक्रिया अघि बढाएर एक टोल एक सहकारीको प्रावधान ल्याउनुपर्नेछ । गाउँकेन्द्रित सहकारीले आर्थिक उत्पादनभन्दा उत्पादनमुखी क्षेत्रमा विस्तार गर्नुपर्नेछ ।’ जिल्ला सहकारी सङ्घमा जिल्लामा पाँच सय २३ सहकारी आबद्ध रहे तापनि स्थानीयगत र विषयगतका सहकारीका सदस्यको सक्रियता नरहेको उनले बताए । दुई कार्यकाल जिल्ला सहकारी सङ्घ नुवाकोटको अध्यक्ष सम्हालेका उनले सहकारीको दिगोपनका लागि जन्मेदेखि मृत्युसम्म नेतृत्व लिन सक्नेले मात्र सहकारी सञ्चालन गर्नुपर्ने बताए । हाल उनी विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख सल्लाहकारमा रहेका छन् ।