तीन वर्षपछि रसुवागढी नाका दुईतर्फी खुल्यो चार दिनमै १५ करोडको सामान चीन निर्यात

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार ११:४९
  • सरस्वती न्यौपाने

धुन्चे, कोरोना महामारीका कारण तीन वर्षदेखि ठप्प भएको रसुवागढी नाका शनिबारबाट दुईतर्फी खुला भएको छ । नाका खुलेको पहिलो दिन शनिबार रसुवागढी नाकाबाट ३७ जनाले नेपाल-चीन आवत-जावत गरेका छन् । अध्यागमन विभागका एक अधिकारीका अनुसार चीनतर्फ जानका लागि शनिबार दुई सय ५० जना नेपालीलाई पास उपलब्ध गराइएको थियो । भन्सार कार्यालयले दिएको जानकारीअनुसार नाका खुलेको चौथो दिनसम्म १५ करोडको नेपाली सामान चीन निर्यात भएको छ ।

चीनको अघोषित नाकाबन्दी भएपछि ०७६ सालदेखि चीनमा रहेका नेपाली चीनतर्फ नै थुनिएर बसेका थिए । नेपाल र चीनबीच रसुवागढी नाकाबाट मानवको आवत-जावत खुलेपछि आफन्त र परिवारका सदस्य भेट्न पास लिनेको अध्यागमन कार्यालय टिमुरे रसुवामा शनिबारदेखि भिड लागेको छ । भिड नियन्त्रण गर्न अध्यागमन कार्यालयले शनिबार प्रहरी नै परिचालन गर्नुपरेको थियो । शनिबार अध्यागमन कार्यालयले दिउँसो २ बजेसम्म मात्र पास जारी गरेको थियो । ‘नेपाल र चीनबीच पारिवारिक सम्बन्ध पनि रहेछ,’ अध्यागमन विभागका एक अधिकारीले त्रिशूली प्रवाहसित भने, ‘कोभिड महामारीको कारण बन्द भएको व्यापार तथा यात्रु आवत-जावतमध्ये व्यापार भने केही समय अगाडिदेखि एकतर्फी रूपमा खुला भए पनि मानिसको आवत–जावत बन्द थियो । शनिबारदेखि मानिसको पनि आवत-जावत खुलेको कारण आफन्त र परिवारका सदस्य भेट गर्नका लागि चीन जाने बढी भएर पास लिनेको भिड नै लाग्यो । अध्यागमन कार्यालयले शनिबारदेखि पास जारी गरिरहेको छ,’ उत्तरी क्षेत्रमा नेपाली गाउँका र चीनका गाउँका बासिन्दाबीच विवाहबारी, व्यापार, मेलापात, रोजगारी, पशुचरनलगायतका काम हुन्छ । कोभिडको कारण मानिस आवत-जावत बन्द भएको कारण खासगरी आफन्तबीच भेटघाट बन्द भएकाले धेरै परिवार मर्कामा परेका थिए । शनिबार पास खुलाइएपछि रसुवावासीलाई सहज चीन आवत-जावत गर्न सुविधा पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

शनिबार नेपालका वाणिज्यसचिव मधुकुमार मरासिनीको टोली नेपाल प्रवेश गर्नेबाहेक अधिकांश चीन गएका छन् । नेपालको अध्यागमन कार्यालय अनलाइनमार्फत सञ्चालित छ । सोही कारण विभागको टोली काठमाडौंदेखि गएर सिस्टम सुचारु गरेको थियो । पहिलो चरणमा रसुवाका नागरिकता भएकालाई मात्र पास जारी गरिनेछ । नेपालले एक वर्षका लागि पास उपलब्ध गराए पनि चीनले कति दिन उनीहरूलाई आफ्नो भूमिमा बस्न दिन्छ त्यो भने प्रस्ट भइसकेको छैन । ‘हामीले नागरिकताका आधारमा रसुवा जिल्लावासीलाई पास दिएका छौँ,’ अध्यागमन विभागका ती अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकसित भने, ‘पास लिने कतिपय शनिबार नै चीनतर्फ गएका छन् । कति दिन बस्न दिन्छ त्यो त चीनको कुरा भयो ।’ शनिबार केही नेपाली ट्रक पनि चीनतर्फ पठाइएको छ । ती ट्रक पास भएका चालकले मात्र चलाएर चीनको केरुङ बजारसम्म लैजान पाउनेछन् । दोहोरो व्यापार खुलेको कारण अब नेपाली ट्रकले चीनको केरुङबाटै सामान लोड गरेर नेपाल आउन पाउनेछन् । हिमपात भएको कारण अहिले आवत-जावतमा समस्या परिरहेको छ ।नाका खुला भएसँगै नेपाली सामान चीन जाने र चिनियाँ सामान नेपाल भित्रिई आपूर्ति व्यवस्थापनमा सहज भई मानिसको आवत जावतले सदियौँदेखि छिमेकी-छिमेकीबीचका सुमधुर सम्बन्ध थप प्रगाढ हुँदै जाने नेपाल केरुङ व्यापार सङ्घका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए । उनले भने, ‘नाका खुला भएलगत्तै रसुवावासीलगायत समस्त व्यापारी व्यवसायीमा उत्साह छाएको छ ।’

नाका सञ्चालन भएपश्चात् निकासी सामग्रीअन्तर्गत बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री बोकेका दर्जनौैँ मालबाहक ट्रक, कन्टेनर केरुङतर्फ गइसकेको र नेपालबाट केही समय अगाडिदेखि १५ करोडबराबरको सामग्री केरुङतर्फ गएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । नाकाखुलेसँगै सयौँ मालबाहक डिब्बा केरुङतर्फ गएको सीमा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि ०७६ साल माघ २७ गतेबाट आवत-जावत बन्द भएको मितेरीपुल चैत १८ गते शनिबार बिहान ७ बजेबाट खुला भएको थियो । तत्कालीन समयमा कोरोनाका कारण मानवको आवत–जावत बन्द गरिए तापनि नेपाली व्यापारीले मगाएका सामग्री भने चिनियाँ पक्षले रसुवागढी पु¥याई नेपाललाई सहयोग गर्दै आएको भन्सार अधिकारीले जनाएका छन् । नाका खुलेसँगै कोरोना परीक्षणअन्तर्गत एन्टिजेन गरेका कन्टेनर डिब्बाचालक र स्थायी पास भएका रसुवावासीलाई मात्र केरुङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिएको र अन्य मानिसका विषयमा केही जानकारी नपाएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए ।

भृकुटी र स्रङचङ गम्पोबीच विवाहपश्चात् नेपाल–चीनबीचको व्यापार व्यवसाय सुरु भएको ऐतिहासिक रसुवागढी नाका व्यवस्थित र मर्यादित तवरले सञ्चालन गराउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउँदै युवा समाजसेवी तेम्ब्रेल तामाङले नीति नियमको अधीनमा रही सबै क्षेत्रले व्यापारिक कारोबार गर्नेमा आफू आशावादी रहेको बताए । रसुवागढी नाका खुला कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सुरक्षा अधिकारी, भन्सार प्रशासक, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, व्याापारी व्यवसायी, सवारीचालक र चिनियाँ अधिकारीको सहभागिता रहेको थियो ।