![](https://trishuliprawaha.com.np/wp-content/uploads/2023/04/Paudel-Bansa-Mahasangko-Barsik-Karyakram-Sampanna.jpeg)
धुन्चे, पौडेल वंश महासङ्घ, रसुवाको तेस्रो वार्षिक कार्यक्रम गत हप्ता सम्पन्न भएको छ । रसुवाली पौडेलको मूलपुरुष जयमंगल पौडेल र पत्नी गौरीदेवीले निर्माण गरेको राममन्दिरपरिसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक समारोह सम्पन्न भएको हो ।
राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरणका समयमा गोरखा दरबारमा तत्कालीन पण्डित र गुरुआमा रहेका पण्डित जयमंगल पौडेल र गौरीदेवीले गोसाइँकुण्ड आउने–जाने तीर्थालुलाई सेवा, सत्कार गर्ने सर्तमा बेत्रावतीदेखि माथि धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता पाएका थिए । सो बिर्ताको अवशेष हालसम्म पनि रहेको छ । जयमंगल पौडेल नेपालका पहिलो प्रधानमन्त्री÷मुख्तियार रंगनाथ पौडेलका हजुरबा र राजगुरु तान्त्रिक योगी बज्रनाथका पिता हुन् । रसुवा जिल्लाको जिबजिबे, रुप्सेपानी, भदौरे, कालिकास्थान, माझगाउँ, तारुके, धारापानी, बनुवा, छाप, बेत्रावती क्षेत्रका पौडेल बन्धुको वार्षिक कार्यक्रममा सहभागिता रहेको थियो । रसुवा जिल्लामा करिब ६ सय घरपरिवार पौडेल रहेका छन् । तीन हजार दुई सय हाराहारी पौडेलको जनसङ्ख्या रहेको छ । जिल्ला समितिका कार्यवाहक अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोह जिबजिबे नीलकण्ठ गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च दुर्गाप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो समारोहमा देवकोटा बन्धु समाजका प्रतिनिधि विष्णुप्रसाद देवकोटा, पनेरू बन्धु समाजका प्रतिनिधि प्रेमबहादुर पनेरूले जिल्ला महासङ्घको गतिविधिमाथि थप सुधारका लागि सुझाव दिएका थिए ।
समारोहमा दिवंगत पितृको मोक्ष कामनाका लागि राममन्दिरपरिसरमा रुद्री आयोजना, कुलदेव बराह, इष्टदेव दत्तात्रेय र दिवंगत प्रख्यात पौडेल महापुरुषको तस्बिरमा माल्यार्पण, वार्षिक रूपमा भएका कार्यको समीक्षा गरिएको थियो । रामचन्द्रको रथयात्रामा सहभागितासहित छत्र, बालन र भजन नाच प्रदर्शन गर्दै आयोजना सम्पन्न भएको जिल्ला कार्यसमितिका सचिव प्रेमप्रसाद पौडेलले जानकारी दिए ।