प्रशासन कार्यालयमा दरबन्दी छ कर्मचारी छैन

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०७९, बिहीबार १२:०३

विदुर, नुवाकोटको जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी छ, कर्मचारी नहुँदा सेवा प्रवाहको चाप थेग्न प्रशासन कार्यालयलाई सकस भईरहेको हो ।

प्रशासन कार्यालयमा ७ जना नायव सुब्बाको दरबन्दी भएपनि ३ जना मात्र कार्यरत रहेका छन् । तिनजनामध्ये एकजना नायव सुब्बाको सरूवा भईसकेको छ । पाँचजना नायव सुब्बा खाली छ । दरबन्दीअनुसारको चारजना खरिदार हुनुपर्नेमा अहिले एकजना मात्र कार्यरत रहेका छन् । सिमित कर्मचारीबाट सेवा दिनुपरेकोले सेवाग्राहीलाई घण्टौं लाम बस्नु परिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा काम र जिम्मेवारी थपिंदै छ तर कर्मचारी भने दरबन्दीअनुसारका नहुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने, घण्टौं कुर्नु परिरहेको छ । जिल्ला प्रशासनमा लेखाका कर्मचारी समेत नहुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले खटाएका कर्मचारीबाट काम लिनुपर्ने अवस्था रहेको छ । भएका कर्मचारी सरूवा हुने तर पठाउन सामान्य प्रशासन मन्त्रालयले समयमा नसक्ने हुँदा सेवाग्राहीले घण्टौं लाईनमा बस्नुपर्ने र थप झन्झट बेहोर्न बाध्य भएका छन् । इलाका प्रशासन कार्यालय सातबिंसेमा नायव सुब्बा दुई जनाको दरबन्दी भएपनि एक जना नहुँदा प्रमुख प्रशासकिय अधिकृत एकजना र कम्प्युटर सहायकलाई दैनिक सेवा दिन मुश्किल परिरहेको छ । लेखा एक, नायव सुब्बा दुई जना कर्मचारी नहुँदा र नेपाल टेलिकमको इन्टरनेट भरपर्दो नहुँदा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने कार्य गर्न सकेको छैन ।

नागरिकता राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढिरहेको छ तर कर्मचारीको अभावमा प्रशासन कार्यालयलाई सेवा प्रवाहमा निकै सकस परिरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराईरहेको बताउनु भयो ।