धुन्चे, रसुवा जिल्लामै अब सुरक्षित प्रसुति सेवा सञ्चालन हुने भएको छ । रसुवा जिल्ला अस्पतालले चिकित्सक, अन्य उपकरण र आवश्यक पूर्वाधारको तयारी गरिसकेको छ । सहजरूपले सुत्केरी हुन नसकेका महिलाका लागि रसुवा अस्पताल धुन्चेमै शल्यक्रियामार्फत बच्चा जन्माउन सेवा शुरू हुन लागेको हो ।
अस्पतालले प्रसुति शल्यक्रिया सेवा शुरू गर्नका लागि ब्यवस्थापकीय कार्य अगाडी बढाएको छ । यसअघि श्रोत साधनको अभावमा सुत्केरी ब्यथाले जटिल भएकालाई काठमाडौं पठाउने गरिएको थियो । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.अमितकुमार शाहले भने समय-समयमा गर्भावस्था परीक्षण गर्ने र सहजरूपले सुत्केरी हुन नसक्ने महिलालाई स्थानीयस्तरमै शल्यक्रिया समेतको सेवा दिन लागिएको जानकारी दिए । शल्यक्रिया सेवाका लागि दक्ष चिकित्सकको ब्यवस्था भईसकेको छ । आवश्यक उपकरण केही परिमाणको धुन्चेमा पुगिसकेको र नपुग सामाग्री खरीदका लागि अस्पताल ब्यवस्थापन समितिले स्वीकृत प्रदान गरिसकेको छ । सञ्चालन हुने शल्यक्रिया सेवाले अबका दिनमा काठमाडौं रिफरको परिपाटी अन्त्य हुने यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । प्रसुति सेवाका लागि निक्स साईमन ईन्स्टिच्यु (ल्क्क्ष्) नामक गैससले चिकित्सक उपलब्ध गराएको बताईएको छ । सामान्य प्रकारको सुत्केरी बाहेक जटिल अवस्था परेका महिलालाई हेलिकप्टर र एम्बुलेन्सबाट काठमाडौं पठाउन पर्ने बाध्यता अबका दिनका हट्ने जाने रसुवा अस्पतालले जनाएको छ ।
त्यसैगरी, स्थानीयस्तरमै बिरामीको शारीरिक समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउण्ड (भिडियो एक्सरे) एवं डिजिटल एक्सरे समेत सञ्चालनमा ल्याएको छ । म्यानुलबाट हँुदै आएको (कालो फोटो) एक्सरेलाई लामो समयको अन्तरालमा यस वर्षबाट हटाईएको अस्पतालका सूचना अधिकारी कृपा बिसुङ्केले जानकारी दिईन् । १५ शैया क्षमताको जिल्ला अस्पतालमा यथेष्ठ स्वास्थ्यकर्मीको ब्यवस्था नहुँदा बढ्दो बिरामीको चाप धान्न मुस्किल पर्दै गएकोले थप स्वास्थ्यकर्मीको छिट्टै ब्यवस्थापन गर्न अस्पताल प्रशासनले आफ्नो तालुक मन्त्रालय÷विभागसँग आग्रह समेत गरेको छ । बैरङ्ग सेवामा स्वास्थ्य परीक्षण एवं उपचारका लागि आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । उपचारका लागि दम, रूघाखोकी, श्वास-प्रश्वास, घाउँखटिरा, चोटपटक, गानुगोला, दन्त, प्रसुति, मधुमेह, छारेरोग, चर्मरोग, अमलपित्त, बाथ जस्ता विविध रोगका बिरामी उपचारका लागि अस्पताल आउने गरेको मेडिकल अधिकृत डा.निरज कोजुले बताउनु भयो ।
गत साउनदेखि फागुनसम्मको तथ्याङ्क हेर्दा अस्पतालको बैरङ्ग सेवाबाट १ हजार ५ सय महिलासहित करिव ३ हजार ५ सय र अन्तरंङ कक्षमा भर्ना भएका ९३ मध्ये ९२ जनाको उपचार भई आ-आफ्ना घर फर्केका थिए । उपचारको क्रममा एकजना बिरामी भने दुःखत निधन भएको अस्पतालले जनाएको छ । अस्पतालको साधन श्रोतको अभावमा यहाँ उपचार हुन नसकेका नौ जनालाई भने सुविधा सम्पन्न अस्पतालमा रिफर समेत गरिएको बताईएको छ । कुनैपनि रोग लागेमा वा लाग्ने संकेत आएमा नजिकको स्वास्थ्य केन्द्र वा जिल्ला अस्पतालमा सम्पर्क राखी समयमै उपचार लिनुहुन सम्पूर्ण रसुवाबासीलाई आग्रह गरिएको मेडिकल सुपरिटेन्डेण्ट डा.शाहले बताएका छन् । सरकारले निःशुल्क उपलब्ध गराउने ९३ प्रकारका औषधीमध्ये रोगको पहिँचानको आधारमा वितरण हुदै आएको बताईएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले रसुवा अस्पताललाई सुधार गरेर उपचारका सेवा सुविधा थपिन लागेको जानकारी दिनुभयो ।
प्रतिक्रिया