अबको यात्रा स्थिरता र सम्बृद्धि !

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:२८

त्रिशूली प्रवाह साप्ताहिक तपाईहरूको हातमा आज आईपुग्दा २४ वर्षमा प्रवेश गरेको छ । सकरात्मक दृष्टिकोण र आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ नुवाकोट, रसुवा, धादिङ जिल्लासहित काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रलाई कार्यक्षेत्र बनाएर २०५७ बैंशाख १ गते बिहीबारदेखि प्रकाशन आरम्भ गरेको थियो । यो अवधिमा हामी ब्यवसायिक पत्रकारिताको स्पष्ट मान्यतामा अडिग रह्यो । यो २३ वर्षमा ११ सय ५० अंक प्रकाशित गरिसकेका छौं । अबको यात्रामा यो मान्यतामा अडिग रहेर सम्बृद्धिको आशा गर्छौं ।

२४ वर्ष प्रवेश गरेको अवसरमा हामी समस्त पाठक : विज्ञापनदाता, बिक्रेता, वितरक, शुभेच्छुक, सहकर्मी तथा पत्रकार मित्रहरूलाई धन्यवाद दिन चाहान्छौं । जसको सहयोग, साथ र सल्लाहले कठिन र जोखिम परिस्थितीमा समेत निरन्तर पत्रिका प्रकाशन गर्न सक्यौं । आगामी वर्ष सिल्भर जुब्ली (रजत वर्ष) मनाउँछौं । मुलुकमा २०७२ सालमै देशले नयाँ संविधान पाए पनि स्थिरता पाउन सकेन । यसको प्रमुख कारण हो, राजनीतिक प्रणालीभित्र संविधानले खेल्न दिएका खुकुला प्रावधान । तिनै खुकुला प्रावधानमा टेक्दै सत्ता केन्द्रित राजनीतिमै दलहरूको समय ब्यतित भईरहेको छ । जसले गर्दा देशले संविधान पाए पनि स्थिरता पाउन सकेको छैन । संविधानले समावेशी नीति बनायो । तर सोही नीतिको कार्यान्वयन हुन सकेको छैन । सिमान्तकृत वर्ग, महिला, दलित र जनजातिको नाममा त्यस वर्गको उच्च घरानिया र राजनीतिक पहुँचवालाले फाईदा लिने गतिलो माध्यम मात्र बनेको छ । त्यसैले अब समावेशी नीति पनि वर्गीय दृष्टिकोणबाट परिमार्जित गर्दै लैजानुपर्नेछ ।

देश संघीय संरचनामा गएपछि केही विकास पूर्वाधारको काम भएपनि जनताले महशुस गर्ने गरी विकासको काम हुन सकेका छैनन् । विकासको नाममा डाँडापाखा खन्ने काम मात्र भएका छन् । सडक र केही पूर्वाधार बन्नु मात्र विकास होइन । अस्थिर राजनीतिक प्रणालीको उपज, आर्थिक क्षेत्र निक्कै धरासायी भएको छ । आर्थिक क्षेत्रले यस बिचमा जसरी सकरात्मक फड्को मार्नुपर्ने हो, त्यसको ठिक विपरीत भएको छ । बैंकले लगानी गर्न सक्ने स्थिती छैन । ब्यवसायी र ऋणीले बैंकको ब्याज र साँवा तिर्न सक्ने स्थिती छैन । यो देशको अर्थतन्त्रको लागि सबैभन्दा चुनौतीको विषय हो । यो चरम आर्थिक अस्थिरताबाट देशलाई माथि उठाउन देशका राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बेला आएको छ । देशले डेढ दशकको बिचमा परिवर्तनका धेरै नारा र नीति पाए । तर, जनता भने परिवर्तन र समृद्धिको आशामा निसासीएका छन् । पछिल्लो राजनीतिक परिवर्तन र त्यसको उपलब्धीको समिक्षा गर्ने बेला भईसकेको छ ।

सम्बृद्ध मुलुक निर्माणको आगामी यात्रामा हाम्रो प्रतिबद्धता कायम छ । मुलुक निर्माणको मुद्दासँगै जनताको सु-सूचित हुन पाउने अधिकार स्थापित गराउन पनि औंलो ठड्याउन हामी सक्रिय र चनाखो भईरहने छौं । अबको यात्रा राजनीतिक स्थिरतासँगै विकास निर्माण र सामाजिक रूपान्तरण हाम्रो प्राथमिकताको विषय बन्नेछ । समयअनुसार बद्लिएका पाठकको चाहना पूरा गर्न हाम्रो अझ परिष्कृत ढंगबाट पाठक समक्ष आउनेछौं । प्रविधीको विकाससँगै सूचनाप्रति जनताको चासो पूरा गर्न यो हाम्रो अभियानमा विगतमा जस्तै पाठकको साथ र सहयोग आवश्यक छ । अन्त्यमा, हाम्रो निरन्तरताको यात्रामा साथ दिने पाठक, शुभेच्छुक, विज्ञापनदाताप्रति आभार ब्यक्त गर्दछौं । राज्यले सहयोग गरेपनि, नगरे पनि विरोधीले दुःख दिएपनि जनतालाई सु-सूचित गर्ने कार्यमा निडरताका साथ आगामी यात्रा जारी रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

शरण उत्सुक सापकोटा
प्रकाशक/सम्पादक