डढेलो नियन्त्रणमा सतर्कता अपनाऔं !

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:३२

देशभरको जङ्गलमा अहिले डढेलो फैलिंदो अवस्थामा छ । डढेलोबाट निस्केको धुँवाको कारण वायु प्रदुषण हुँदा जनजीवन असहज भईरहेको छ । डढेलोले देशभरी क्षति पु¥याईरहेको छ । डढेलोकै कारण भौतिक सम्पत्तिका साथै पशुपंक्षी जलेर नष्ट भईरहेका छन् । डढेलोले वन मात्रै होइन, मन पनि जलाएको छ । अहिले देशभरी २ सय ५० भन्दा बढी स्थानको सामुदायिक वनमा डढेलो लागेको छ । डढेलो नियन्त्रणको लागि प्रयास भईरहेको छ । वर्षेनी डढेलो लाग्ने क्रम बढिरहेको छ । डढेलो तपाई–हामी सबैको असावधानीको कारणले लागिरहेको छ । डढेलो चट्याङबाट सल्केको नभई आम उपभोक्ताले जानी–जानी सल्काएका समाचार आईरहेका छन् । डढेलो नियन्त्रणमा सरकारी, गैरसरकारी संघ–संस्था स्थानीयबासी खटिए पनि डढेलो नियन्त्रण भन्दा अहिले फैलिंदो अवस्थामा रहेको छ ।

आम उपभोक्ताले जङ्गलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताको कारण त्यसो गर्दै आएको पाईन्छ । नेपालमा ६५ प्रतिशत वन डढेलो ब्यक्तिले जानी-जानी लगाउने, ३० प्रतिशत अचानक दुर्घटनाबाट वनमा आगलागी हुने, पाँच प्रतिशत स्रोत थाहा नभएकोबाट वनमा आगलागी हुने गरेको तथ्याङ्क बाहिर आएको छ । ८० प्रतिशत भन्दा बढी आगलागी फागुनदेखि बैंशाखसम्म हुने गरेको छ । यो तथ्य थाहा पाउँदा-पाउँदै पनि यो अवधिमा विशेष सर्तकता अपनाउन नसक्नु र डढेलो रोकथामका उचित अभियान सञ्चालन गर्न नसक्नुलाई स्थानीय सरकारका कमजोरी हो भन्न सकिन्छ । सुख्खा बनेको वन क्षेत्र समुदायकै असावधानी र निहित स्वार्थको कारण डढेलो लाग्ने क्रम बढेको छ । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग मिलेर डढेलो नियन्त्रणका लागि दमकललगायत उपकरण र जनशक्रिको ब्यवस्थापन गर्न जति ढिलो हुँदैछ यसले पु¥याउने क्षति त्यति नै बढिरहेको छ । डढेलो सप्ताह गत महिना देशभरी मनाईयो । यसले केही सचेतना अभिबृद्धि गरेको महशुस गर्न सकिन्छ ।

नेपालमा करिव ४५ प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेकाले त्यसको संरक्षणका लागि पनि ठूलो चुनौतीका रूपमा वनमा डढेलो देखिएको छ । त्यसको नियनत्रण गर्न तीन तहका सरकारले वर्षेनी ठूलो जनधन प्रयोग गरिरहेको छ । तैपनि त्यो प्रभावकारी हुन सकेको छैन । डढेलो सल्केको बेलामा मात्र योजना बन्ने, डढेलो निभेपछि अर्को वर्ष पनि डढेलो लाग्छ कि भन्नेतर्फ सरोकारवालाले ध्यान पु¥याउन नसंक्दा वर्षेनी हिउँद लागेसँगै डढेलो फैलनु सामान्य भईसकेको छ । अब डढेलो नलाग्ने वातावरण बनाउनु आवश्यक छ । डढेलो लाग्न नदिनेतर्फ स्थानीय समुदाय जिम्मेवार नभएसम्म सरकारको एक्लो प्रयासले सम्भव हुँदैन । विशेषतः डढेलो लाग्न सक्ने विषयमा जनचेतना फैलाउने काममा संघीय, प्रदेशदेखि स्थानीय सरकारसम्म सबै निकायको समन्वयात्मक किसिमले अघि बढ्नुपर्छ । सरकारले वन डढेलो नियनत्रण गर्न छुट्टै निकाय गठन गरेर दक्ष जनशक्ति निर्माण गर्नुपर्ने र जनचेतनालाई फैलाउन सकेमा डढेलो नियन्त्रण प्रभावकारी हुन सक्छ ।