नुवाकोटका कुइँकेललाई जनसेवाश्री पदवि

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८०, बिहीबार ११:३५

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७ सय २८ ब्यक्तिलाई विभिन्न महान पदवि नयाँ वर्षको दिन प्रदान गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निबासमा शुक्रबार विशेष समारोहमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं.-६ का स्थायीबासी तथा राष्ट्रियस्तरका पत्रकार एवं मानव अधिकारकर्मी राजनप्रसाद कुइँकेल विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तित्वलाई शुक्रबार मानपदवि, अलंकार र पदकबाट सुशोभन गर्ने क्रममा राष्ट्रपति पौडेलले पत्रकार कुइँकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् । राष्ट्रपति भवन शितल निबासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिंदै आएको छ । राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका ब्यक्तिलाई विभूषण दिने घोषणा गरिएको थियो । यस वर्ष नेपाल रत्न दिवंगत पूर्व प्रधानमन्त्री सुशिल कोईरालालाई दिईएको छ भने राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् । यस्तै, सुप्रिसद्ध प्रवल जनसेवाश्रीबाट संस्कृतिविद् डा.जगमान गुरुङ विभूषित भएका छन् ।

राष्ट्र र जनताकै पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर बंैशाख १ मा विभूषण वितरण गर्ने कानुनी ब्यवस्था छ । विभूषित कुइँकेल विगत दुई दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने मानवअधिकार क्षेत्रमा पनि उत्तिनै समयदेखि अभियानरत छन् । कुइँकेल विश्वकै प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाको अध्यक्ष समेत रहिसकेका छन् ।