विदुर, मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी (अभियुक्त) ७ वर्षपछि पक्राउ परेका छन् ।
नुवाकोट जिल्ला साबिक तंलाखु गाविस-७ हाल शिवपुरी गाउँपालिका वडा नं.-१ की ४० वर्षिया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आईतबार विदुर नगरपालिका वडा नं.-२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो । उनलाई नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७३ साल बंैशाख ३ गते एक पिडितलाई पटक-पटक फोन गरी भक्तपुर जिल्ला सुर्यबिनायक चोकमा ललाई-फकाई जाहेरवाली (पीडित) लाई ट्याक्सी चढाई हेटौंडा पु¥याईएको थियो ।
त्यहाँबाट इलाम जिल्लाको पशुपति नगर हुँदै सो स्थानबाट सिमा पार गराई भारतको दार्जिलिङ, सिलुगढी हुँदै रेल चढाई ३ दिनको रेल यात्रापछि भारतको मुनिरका भन्ने स्थानमा पु¥याएका थिए । त्यहाँ रहेका कुमार तामाङले लिएर राखेको फ्ल्याटमा एक महिनासम्म राखी जबर्जस्ती करणी गरी त्यसपछि जीवी रोडमा कोठी सञ्चालन गरी बस्ने हेरिङ डोल्मा तामाङलाई ५ लाखमा बिक्री गरी जीवी रोडस्थित ६८ नम्बर कोठीमा लगेर ४ महिनासम्म यौन ब्यवसायमा लगाईएको थियो । यही मानव बेचबिखन मुद्दामा त्यतिबेला हेरिङ डोल्मा तामाङलाई पीडितले स्पष्ट किटानी नाम भन्न नसकेपछि प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर सोही मुद्दामा अर्का प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साबिक राम्चे गाविस–१ बस्ने ३४ वर्षीय कुमार तामाङलाई २०७५ साल कात्तिक १४ गतेको नुवाकोट जिल्ला अदालतले २० वर्ष कैद र ५० हजार जरिवानासहित फैसला गरेको थियो । उनी कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया