+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचनले परिवर्तनको सङ्केत दिएको छ

उपनिर्वाचनले परिवर्तनको सङ्केत दिएको छ
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान बुधबार नुवाकोटमा समापन भएको छ । मिसन ग्रासरुट अभियान समापन सन्देश सभाका लागि नुवाकोट आएका एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको उपनिर्वाचनको परिणामले दलमा परिवर्तनको खाँचो रहेको देखाएको बताएका छन् । नेता पाण्डेले शासकीय सुधारमा लाग्नुपर्ने जनताको मागलाई उपनिर्वाचनको परिणामले स्पष्ट पारेकोे बताए ।

बुधबार बट्टारमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले उपनिर्वाचनमा पार्टीको मिसन ग्रासरुटले काम गर्न नसकेको बताए । नेता पाण्डेले भने, ‘मिसन ग्रासरुट अभियानको प्रभाव निर्वाचन भएको क्षेत्रमा देखिएन । मिसन ग्रासरुटले भोट बढ्नुको साटो झन् घटायो । यसलाई गम्भीर रूपमा लिनुपर्छ ।’ उपाध्यक्ष पाण्डेले उपनिर्वाचनले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको र यसलाई पार्टीले गम्भीर समीक्षा गर्न आवश्यक रहेकोसमेत बताए । उनले पछिल्लो समय पार्टीभित्र मुद्दाकेन्द्रित राजनीतिभन्दा स्वार्थकेन्द्रित राजनीति हाबी हुनुको परिणाम पार्टीलाई कमजोर बनाउँदै लगेको बताए । ‘जनताको मुद्दामा आधारित राजनीति गर्नुपर्नेमा व्यक्तिकेन्द्रित, स्वार्थकेन्द्रित राजनीति भएको छ । अहिलेले उपनिर्वाचनले जनताकेन्द्रित राजनीति गर्न सन्देश दिएको छ,’ उपाध्यक्ष पाण्डेले भने ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डेले देशको विकास अवधारणमा व्यापक परिवर्तनको खाँचो रहेको बताए । उनले मुलुकले धान्न नसक्ने र आर्थिक उपार्जन नगर्ने सयौँ टुक्रे योजनामा लगानी गर्नुभन्दा आर्थिक आधार सिर्जना गर्न सक्ने ठूला योजनामा लगानी गर्नुपर्नेमा जोड दिए । ‘अहिले देशको आर्थिक सूचक सकारात्मक छैन । आर्थिक आधार सिर्जना गर्ने योजना सञ्चालन गर्न नसके राज्यले खर्च धान्न सक्दैन,’ उपाध्यक्ष पाण्डेले भने, ‘राज्यले आयातमा कडाइ गर्दा दुई अर्ब राजस्व कम सङ्कलन हुँदा त्यसको प्रत्यक्ष असर देखिइसकेको छ । राज्यले आन्तरिक ऋण लिएर विकासमा खर्च गर्दा विकास महङ्गो पर्नेछ । त्यसैले अहिलेको टुक्रे विकासको मोडेलमा परिवर्तन गर्नुपर्छ ।’ उपाध्यक्ष पाण्डे नुवाकोटमा सञ्चालन भएको मिसन ग्रासरुट अभियानको समापन कार्यक्रममा सहभागी हुन आएका हुन् । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीले मिसन ग्रासरुट अभियानअन्तर्गत जिल्लामा ८८ वडामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा एमालेले अभियानका लागि खटाएका केन्द्रीय सदस्य कृष्णबहादुर राई, शर्मिला कार्की, गीता कार्की, माधव अर्याल, हरिकृष्ण व्यञ्जनकार र केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज विन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सना, मिसन ग्रासरुट अभियानका नुवाकोटका जिम्मेवार नेता, प्रदेश किमिटी, जिल्ला कमिटी तथा स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । मिसन ग्रासरुट अभियानको शुभारम्भ गत फागुन १३ गते नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह