नुवाकोटका बाह्र पालिकामा २७ करोड बेरुजु तादीको बढी, शिवपुरीको कम

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १५:४१

विदुर, सिंहदरबारको अधिकार प्रयोग गरिरहेका देशभरका सात सय ५३ वटा पालिकामा आर्थिक बेथितिको ग्राफ चुलिँदै गएको छ । आ.व. ०७८/७९ मा देशभरिको पालिकाको हिसाब राख्ने महालेखापरीक्षकको कार्यालयले गत हप्ता ६०औँ प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक बेथिति नियन्त्रणबाहिर गएको पुष्टि गरेको छ ।

महालेखाको प्रतिवेदनअनुसार जिल्लाको दुई नगरपालिका र दश गाउँपालिका रहेको नुवाकोटमा आ.व. ०७८/७९ मा १२ अर्ब ६८ करोड ६८ लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २७ करोड ७२ लाख नौ हजार रुपैयाँ बेरुजु रहेको छ । जिल्लाको ताली गाउँपालिकामा सबभन्दा बढी र शिवपुरी गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखाले सार्वजनिक गरेको आ.व. ०७८/७९ को प्रतिवेदनअनुसार जिल्लाको सबैभन्दा कम शिवपुरी गाउँपालिकाको एक अर्ब ४४ लाख ७५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.७५ अर्थात् ७५ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु रहेको तादी गाउँपालिकाको ८७ करोड ११ लाख ८८ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । उक्त परीक्षणमा पाँच करोड ६७ लाख रुपैयाँ बेरुजु अर्थात् ६.५१ प्रतिशत रहेको छ । जिल्लाको तारकेश्वर गाउँपालिका र म्यागङ गाउँपालिकाको बेरुजु एक प्रतिशतभन्दा कम रहेको छ । तारकेश्वरको ६८ करोड २४ लाख ४२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.८२ अर्थात् ५५ लाख ९० हजार रुपैयाँ र म्यागङको ७९ करोड ३९ लाख २४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९२ अर्थात् ७२ लाख ६६ हजार रुपैयाँ बेरुजु छ ।

त्यसैगरी, ककनीको एक अर्ब नौ करोड ३५ लाख ३६ हजार रुपैयाँबराबरको लेखापरीक्षण गर्दा १.०७ अर्थात् एक करोड १६ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेलकोटगढी नगरपालिकाको एक अर्ब ७१ करोड ९६ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३.९४ अर्थात् ६ करोड ७७ लाख चार हजार रुपैयाँ बेरुजु रहेको छ । त्यसैगरी, ठूलो बजेट चलाउने विदुर नगरपालिकाको दुई अर्ब २७ करोड ५८ लाख ६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २.४७ अर्थात् पाँच करोड ६१ लाख ८७ हजार रुपैयाँ बेरुजु छ भने सूर्यगढी गाउँपालिकाको ६८ करोड ३३ लाख ५९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.७७ अर्थात् एक करोड २० लाख ७७ हजार रुपैयाँ बेरुजु रहेको छ ।

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार जिल्लाको किस्पाङको ७३ करोड ५८ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.१६ अर्थात् ८५ लाख ४४ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाको एक अर्ब २० करोड ३८ लाख ४४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २.३९ अर्थात् दुई करोड ८७ लाख ५४ हजार रुपैयाँ र पञ्चकन्या गाउँपालिकाको ८१ करोड आठ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.६६ अर्थात् एक करोड ३४ लाख २० हजार रुपैयाँ बेरुजु रहेको छ । यता लिखु गाउँपालिकाको ८१ करोड २७ लाख नौ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.२१ अर्थात् १८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।