उद्योग वाणिज्य सङ्घको कार्यसमिति सर्वसम्मत चयन

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १५:४८

पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा लगानी गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

विदुर, निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घको शुक्रबार सम्पन्न ११औँ अधिवेशन तथा १८औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेको साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उद्घाटनको अवसरमा महासङ्घका अध्यक्ष ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आफूले हालै सम्पन्न महासङ्घको ५७औँ वार्षिक साधारणसभामा अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै गर्दा केही प्राथमिकता उल्लेख गरेको र त्यसमध्ये वर्तमान आर्थिक समस्याको समाधान उच्च प्राथमिकतामा रहेको बताए । ‘यसबारे हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर यसको समाधानका उपायबारे छलफल गरिसकेको छ,’ उनले भने, ‘सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौँ । अर्थमन्त्री र गभर्नरले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ । यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ ।’ ढकालले नुवाकोट जिल्ला सङ्घीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रको सम्भावना रहेको बताउँदै सम्भावित क्षेत्रमा आयोजना पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने बताए । ‘यहाँ पर्यटन, कृषि र जलविद्युत् कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ, परियोजना छनोट गर्नुहोस्,’ उाले भने, ‘व्यक्तिगत रूपमा वा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षका रूपमा यहाँहरूसँग सहकार्य गर्न तयार छु ।’

०४५ सालमा स्थापना भएको सङ्घको इतिहासमा यसभन्दा अघि ०४९ सालमा निर्मलकुमार श्रेष्ठ र ०५८ सालमा धननारायण चित्रकार अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन भएको पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले जानकारी दिए । सङ्घ ०४५ साल साउन २६ गते स्थापना भएको थियो । गठन भएको तदर्थ समितिको अध्यक्ष प्रदीपरत्न शाक्यको नेतृत्वमा १७ सदस्य कार्यसमिति रहेको थियो । सङ्घको प्रथम साधारणसभा तथा पहिलो अधिवेशन ०४६ चैत १३ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनले निर्मल श्रेष्ठ अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चयन भएको थियो । सङ्घको दोस्रो अधिवेशन ०४९ कात्तिक १६ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनले निर्मलकुमार श्रेष्ठलाई अध्यक्षमा र कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सङ्घको तेस्रो अधिवेशन ०५३ वैशाख ३० गते बलराम रिजाल अध्यक्ष रहेको कार्यसमिति निर्वाचनबाट चयन गरेको थियो । ०५६ कात्तिक १० गते चौथो अधिवेशनले अध्यक्षमा धननारायण चित्रकार र कार्यसमिति निर्वाचनबाट चयन गरेको थियो । त्यसैगरी, सङ्घको पाँचौँ अधिवेशन ०५९ पुस २७ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनले धननारायण चित्रकार अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सङ्घको छैटौँ अधिवेशन ०६२ माघ ३ गते सम्पन्न भयो । उक्त अधिवेशनमा निर्वाचन हुँदा शरण उत्सुक सापकोटासहित १७ सदस्य कार्यसमिति चयन भएको थियो । ०६५ चैतमा भएको सङ्घको साताँै अधिवेशनले पनि अध्यक्षसहित कार्यसमितिको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट शरण उत्सुक सापकोटासहित कार्यसमिति चयन भएको थियो । सङ्घको आठौँ अधिवेशन ०६४ पुस २६ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनमा निर्वाचन हुँदा अध्यक्षमा राजन श्रेष्ठसहित कार्यसमिति निर्वाचनको माध्यमबाट चयन भएको थियो । सङ्घको ०७२ पुसमा सम्पन्न नवौँ अधिवेशनमा निर्वाचनबाट ताराबहादुर कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । सङ्घ दशौँ अधिवेशन ०७६ पुसमा सम्पन्न भयो । उक्त अधिवेशनमा निर्वाचन हुँदा अध्यक्षमा ताराबहादुर कार्की र कार्यसमिति निर्वाचनबाट चयन भएको थियो । सङ्घको ०८० वैशाख ८ गते सम्पन्न ११औँ अधिवेशनले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सङ्घको सम्पन्न ११औँ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, प्रथम उपाध्यक्षमा दिनेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सविन राजभण्डारी, महासचिवमा उपेन्द्र बुढाथोकी, सचिवमा मधुसुदन थपलिया, कोषाध्क्षमा मेघनाथ घिमिरे, प्रवक्तामा सुमन भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी, सङ्घको विधानअनुसार कार्यसमितिको महिला सदस्यमा ज्ञानुमाया गिरी, सुजना खतिवडा, ज्ञानु गुरुङ र खुला सदस्यमा पुरुषोत्तम कार्की, राजकुमार आचार्य, हरिकृष्ण तिमिल्सिना, सञ्जीव थपलिया, दीपक तिमिल्सिना, नवराज पाण्डे, पवन नेपाल, प्रेमलाल श्रेष्ठ, सुजित श्रेष्ठ तथा वस्तुगत सदस्यमा सविन श्रेष्ठ र पुरुषोत्तम अधिकारी सर्वसम्मत चयन भएका छन् । सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा सङ्घमा २५ वर्षभन्दा बढी सेवारत कार्यकारिणी सचिव ईश्वर डङ्गोल र सङ्घको तालिम एकाइ इलम प्रशिक्षण केन्द्रका सहायकका रूपमा २० वर्षदेखि सेवारत माधव दाहाललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सो अवसरमा जिल्लामा पहिलो फ्लेक्स प्रिन्ट प्रेस भित्र्याउने एवम् जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन र प्रचार-प्रसारमा अनवरत सक्रिय प्रिन्ज आर्टका श्रवण प्रधान र जिल्लाको आमसञ्चार जगत्मा उल्लेखनीय कार्य गर्दै नुवाकोटको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्दै आएका नेपाल पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई समेत सम्मान गरिएको थियो । नुवाकोटबाट महासङ्घको केन्द्रीय कार्यसमितिमा ०५४ मा धननाराण चित्रकार, २०७३ र २०७६ मा राजन श्रेष्ठ र ०७९ मा सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट ताराबहादुर कार्की निर्वाचित भइसकेका छन् ।