बट्टार, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ नुवाकोटको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्यान नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम वैशाख १७ गते सम्पन्न भएको हो ।
बट्टारमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको क्यान महासङ्घ नुवाकोटका अध्यक्ष पवन नेपालले जानकारी दिए । उनका अनुसार २ महिला र ३२ पुरुषले रक्तदान गरेका थिए । रक्तदान नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो । कार्यक्रममा रक्त सञ्चार केन्द्रकी प्रमुख लक्ष्मी श्रेष्ठले रक्तदान दानपछिको प्राप्ति नभएर मानवीय सहयोगी भावना र आफ्नो स्वास्थ्य स्वस्थ राख्न गरिने भएकाले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताइन् । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागेको छ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकोमा नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै आइरहेको छ ।