विदुर, नुवाकोट अटो मेकानिक्स व्यवसाय सङ्घले विभिन्न छरिएर रहेका वर्कसप ग्यारेजलाई एकत्रित गरेर अटो भिलेज बनाइदिन विदुर नगरपालिकासँग माग गरेको छ ।
जिल्लामा रहेको व्यवसायको व्यवसाय दर्ता अनिवार्य तथा एउटै दररेट कायम गरिदिन सङ्घले नगर कार्यपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्घले विदुर नगरपालिका-५ मा रहेको खाली जग्गालाई सम्भावित अटो भिलेजका लागि छुट्याइदिन नगरप्रमुख राजन श्रेष्ठसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष राम विक ९भक्तबहादुर सुनार०ले सम्भावित विदुर नगरपालिका-५ मा रहेको खाली जग्गा अनुगमन गर्नसमेत नगरप्रमुखसँग अनुरोध गरेका छन् । जिल्लामा गैरनेपालीले वर्कसप खोलेको, जथाभावी शुल्क लिने गरेको र गाडीको इन्जिन जथाभावी खोलेर फिट नै नगरी भाग्ने गरेको जानकारी सङ्घका कोषाध्यक्ष प्रेममान श्रेष्ठ ‘कान्छा’ले नगरप्रमुखलाई गराएका थिए । वर्कसपमा गैरनेपालीलाई काममा लगाउन कानुनले बर्जित गरेको, काममा लगाउनुपरे राजदूतावासको सिफारिस अनिवार्य रहेकोसमेत सङ्घका पदाधिकारीले नगरप्रमुखसँगको छलफलमा बताएका थिए ।
विदेशी नागरिकलाई काममा लगाउँदा श्रम ऐनअनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट अनिवार्य रूपमा श्रम इजाजत लिनुपर्ने हुन्छ । नुवाकोटमा भारतीय नागरिक कुनै निकायको इजाजत नलिई वर्कसप खोल्ने, वर्कसपमा काम गर्ने गरिरहेका छन् । भारतीय श्रमिकलाई काममा लगाउँदा श्रम विभागमा अभिलेखीकरण गर्नुपर्ने हुन्छ । नेपाल सरकारसँग अनुमति भई भारतीय श्रमिकलाई जिल्लामा काममा लगाइएको छ । यसको विरोधमा नुवाकोट अटो मेकानिक्स व्यवसाय सङ्घ अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दै आन्दोलनमा उत्रेको छ ।






प्रतिक्रिया