+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय घाटुनाच जोगाउँदै

स्थानीय घाटुनाच जोगाउँदै
त्रिशूली प्रवाह
२ साल अगाडी

माझीटार, विशेषगरी गुरुङ समुदायले संरक्षण गर्दै आएको घाटुनाचलाई नुवाकोटका कुमाल समुदाय संरक्षणमा लागेका छन् । विदुर नगरपालिका-५ माझीटारमा रहेका देवी मन्दिरका स्थानीयले विगतदेखि मनाउँदै आएको घाटुनाचलाई निरन्तरता दिँदै यस वर्ष पनि चण्डी पूर्णिमाको दिन प्रदर्शन गरेका छन् ।

गुरुङ समुदायमा प्रसिद्ध रहेको घाटुनाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र सवद्र्धनका लागि माझीटारका स्थानीयले विगतदेखि नै अभियान चलाउँदै आएका छन् । वैशाख २२ गते चण्डी पूर्णिमाको दिनदेखि सुरु गरिएको घाटुनाच वैशाख २४ गतेसम्म माझीटारमा सञ्चालन गरिएको थियो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । ‘सती’ र ‘बाह्रमासे’ गरी घाटुनाच दुई प्रकारको हुन्छ । बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक-फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको रहेको स्थानीय दिवाकर थापामगरले बताए । नुवाकोटको माझीटारमा संरक्षण हुँदै आएको घाटुनाच भने सती प्रथाअनुसारको रहेको छ । पछिल्लो समय घाटुनाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणका लागि अभियान थालेको स्थानीयले बताएका छन् ।

सत्रौँ शताब्दीदेखि घाटु नृत्य प्रारम्भ भएको पाइन्छ । यस नृत्यमा रजश्वला नभएका दुई कन्यालाई स्थानीय वेशभूषामा सजाई राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती, युद्धबारे व्याख्या तथा अभिनय गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह