फेरि कोरोनाकै सन्त्रास !

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १३:३७

फेरि कोरोना सङ्क्रमण बढ्दै गएको छ । यसले गर्दा जनमानसमा पुनः भयको वातावरण सिर्जना हुन पुगेको छ । हुन त विश्वमा विभिन्न कालखण्डमा कुनै न कुनै प्रकारका महामारी फैलिरहेकै थिए । ती विभिन्न नाममा फैलिएका महामारीको चपेटामा परेर लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । जीव वैज्ञानिक चाल्र्स डार्बिनले भनेजस्तै प्रकृतिले आफ्नो सन्तुलन आफैँ मिलाउँछ । बढ्दो जनसङ्ख्यालाई प्रकृतिले नै सन्तुलनमा ल्याउँछ । यही क्रममा यस्ता अनेकौँ महामारी आएका होलान् भनेर मान्न सकिन्छ । प्राकृतिक प्रकोप, रोगका महामारी वा सङ्क्रमण, अनेकौँ खालका दुर्घटनाबाट विश्वमा दिनहुँ हजारौँ मानिसले अकालमा मृत्युवरण गरिरहेका छन् ।

संसारभरि कुनै न कुनै प्रकारले दैनिक मानवीय क्षति भइरहेको छ । यसका बाबजुद संसारमा मानिसको सङ्ख्या भने दिन प्रतिदिन बढिरहेको छ । मर्नेभन्दा जन्मिनेको सङ्ख्या बढी भएका कारण यस्तो भएको हो । तर, नागरिकलाई अकाल मृत्यु हुनबाट जोगाउनु राष्ट्रको मात्र नभएर मानवीय धर्म र कर्तव्य पनि हो । त्यसैले मानिसले यसतर्फ जोड दिइरहेको हुन्छ । प्रसङ्ग हो, कोरोनाको नयाँ भेरियन्ट । कोरोना हाम्रो समयको अहिलेसम्मको सबैभन्दा त्रासदीपूर्ण महामारी हो । यसको प्रकोप र प्रभाव हामीले देखे-भोगेका छौँ । धेरैले यसकै कारणबाट प्रिय आफन्त गुमाएका छन् । हालका दिनमा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण बढिरहेको छ ।

विश्वलाई चार वर्षअघिदेखि अहिलेसम्म कुनै न कुनै प्रकारले सन्त्रस्त पारिरहेको कोरोना यसबीच अनेकौँ स्वरूपमा फैलिन पुग्यो । यससम्बन्धी विज्ञले यो विभिन्न प्रकारका भेरियन्टलाई विभिन्न नाम दिएका छन् । कुन बढी जोखिमपूर्ण र कुन कम जोखिमको भनेर पनि तिनले छुट्याउने गरेका छन् । चीनको बुहानबाट सुरु भएको कोरोना महामारी त्यसको केही महिनाभित्रै विश्वव्यापी बन्न पुगेको थियो । विश्वभरि त्यसको चपेटामा परेर लाखौँ मानिसले ज्यान गुमाए । विश्वभरिकै विज्ञको अथक प्रयासबाट यसको खोप बन्यो र खोप लगाएर मानिस सुरक्षित बन्न पुगे । तर, खरानीभित्रको आगो जसरी यो अहिलेसम्म रहिरहेको छ । यो संसारबाट निमिट्यान्न भएको छैन ।

आफ्ना सम्पूर्ण कामलाई थाती राखेर सबैजना घरघरमै बसेर जीवन जोगाएका मानिसले यसको सङ्क्रमण न्यून भएपछि राहतको अनुभव गर्न पाएका थिए । काम नगरी खान पाइने कुरै भएन, खोप लगाइसकेपछि सुरक्षित भएको महसुस मानिसले गर्न थाले । खोप लगाएपछि सर्वसाधारण निर्धक्क भएर काममा फर्किएका थिए । अब फेरि कोरोनाको नयाँ भेरियन्ट फैलिएको र अस्पताल भर्ना भएका बिरामीको सङ्ख्या दैनिक बढिरहेकाले सतर्कता अपनाउन चिकित्सक तथा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले आग्रह गरेका छन् । यसबाट जनताले कोरोनाको सङ्क्रमण बढ्दै गएको बुझ्नुपर्ने हुन्छ । यो पनि बुझ्नुपर्छ – सरकारले जनतालाई अनाहकमा त्रासमा राख्दैन ।

सरकारको निर्देशनलाई अवज्ञा नगरी जनताले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । त्यसले आक्रान्त पार्दा अप्ठ्यारा पर्ने हामी आफैँलाई हो । हिजोको लकडाउन, आइसोलेसन, क्वारेन्टिन सम्झेर जनताले आफू पनि सतर्क रहनुपर्छ । सरकारले वर्तमान अवस्थामा पहिले जसरी लकडाउन गर्दैन, त्यो सम्भावना छैन, जसले गर्दा जनस्तरको लापरबाही बढ्छ । अहिलेसम्मको अवस्थामा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्, तर यसको मात्रा पुगेको छ कि छैन भन्ने कुरा विचारणीय छ । पूर्ण मात्रामा खोप लगाउन बाँकी सङ्ख्या धेरै हुन सक्छ । भन्न त चिकित्सकले यो नयाँ नामको भेरियन्ट त्यति धेरै हानिकारक छैन भनेका छन् । तैपनि सतर्कता त आवश्यक हुन्छ ।

सावधानी नअपनाएका कारण यसको सङ्क्रमण व्यापक भयो भने भोलिका दिनमा पहिले जसरी लकडाउनको स्थिति भोग्नुपरेका खण्डमा हाम्रो जनजीवनको चौतर्फी क्षेत्र प्रभावित बन्नेछ । सरकार र चिकित्सकले दिएको सल्लाह र सुझावअनुसार मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, खानपानमा सतर्कता अपनाउने, धेरै भिडभाड भएका ठाउँमा नजानेजस्ता सावधानी अपनाउने हो भने निश्चय पनि कोरोनालगायत अरू सङ्क्रमणबाट जोगिन सकिन्छ । कुनै कुरा जोखिमपूर्ण छैन भन्दैमा हेलचेक्र्याइँ गरियो भने नपत्याउने खोलाले पनि बगाउँछ भनेझैँ त्यसले ठूलो सङ्क्रमण पैदा गर्न सक्छ । यसका लागि सावधानी सबैभन्दा उत्तम विकल्प बन्न सक्ने भएकाले सबैले सावधानी अपनाउनु आवश्यक छ ।