- रामहरि न्यौपाने
विदुर, ०७२ को भूकम्पले क्षति पु¥याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुने नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताएका छन् । चीन सरकारले पुनर्निर्माणको जिम्मेवारी लिएको दरबारसहितको आठवटा संरचना पुनर्निर्माणको काम ढिलो भइरहेको समयमा गत हप्ता राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
‘भूकम्प (आठ वर्षअघि गएको शक्तिशाली गोरखा भूकम्प)ले क्षति पु¥याएको नुवाकोटको साततले दरबारसहित धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठवटा संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारको भएकाले काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क हुनुहोस्,’ राजदूत सोङले भने, ‘केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारी अपडेट (मिलाउन) गर्नुपर्ने भएकाले मिति यकिन नभए पनि काम छिट्टै सुरु गर्न लागेका छौँ ।’ भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित आसपासका आठवटा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने चीन सरकारले गर्ने सम्झौता भएको छ । सोहीअनुसार नेपालको तर्फबाट पुरातत्व विभाग र चीन सरकारको तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता ०७६ जेठमा भएको थियो । उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनर्निर्माण तथा प्रबलीकरण अझै अन्योल अवस्थामा छ ।
चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको आठवटा संरचनामा साततले दरबारसहित तुलजा भवानीको मन्दिर, दरबारपरिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिरपरिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेको छ । चिनियाँ प्राविधिकबाट भौगोलिक र पुरातात्विक अध्ययन भइरहेको समयमा राजदूतले स्थलगत अवलोकनपश्चात् काम सुरु गर्न लागेको बताएसँगै पुनर्निर्माण अघि बढ््ने आशा जगाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए । उनका अनुसार स्थलगत अवलोकनको क्रममा राजदूतले काम सुरु गर्नुअघि दरबारसम्म पुग्ने करिब आठ सय मिटर सडकको पहुँचमार्ग खुला गर्नसहित स्थानीयवासीबाट आवश्यक सहयोग हुनुपर्ने माग गरे । ‘राजदूतले काम सुरु गर्न विभागसँग थप नयाँ समझदारीदेखि यहाँ देखिएका समस्या समाधानमा सहयोग गर्नुपर्छ भनेका छन्,’ कार्यालय प्रमुख फुँयालले भने, ‘ती विषय पूरा गर्न हामी (नेपाली पक्ष) तयार छौँ ।’
०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर छाना लगाएर छोडेको छ । त्यसलगत्तैको नयाँ वर्ष (सन् २०२०) मा फर्कने भनेर गएको चिनियाँ प्राविधिक टोली गत वर्ष मात्रै केही सङ्ख्यामा आए पनि पुनर्निर्माणको काम भने अझै सुरु गरेको छैन । चिनियाँ टोलीले विगत चार वर्षदेखि मासिक एक लाखभन्दा बढी भाडा तिरेर कार्यालय राखेको छ । उक्त कार्यालयमा चार वर्षदेखि ताला लागेको स्थानीयले बताए । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि वि.सं. १८०१ मा विजय हासिल गरेपश्चात् गोरखाको जस्तै दरबार निर्माण गर्न लगाएका थिए । सुरुमा नौतले दरबार भनेको ९० सालको भूकम्पले दुई तला भत्काएपछि हाल साततला मात्र रहेको छ । अहिले यो दरबार साततले दरबारको नामले चिनिन्छ । उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो । पुनर्निर्माणको पर्खाइमा रहेको दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएको छ । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएको हो । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट केही समय शासन सञ्चालन गरेका थिए ।






प्रतिक्रिया