+
Search

ताजा अपडेट +

पपुलर +

चीनमा बन्दीले बनाएका मुढाको माग

चीनमा बन्दीले बनाएका मुढाको माग
त्रिशूली प्रवाह
२ साल अगाडी

हेटौँडा, मकवानपुको भीमफेदी कारागारका कैदीबन्दीले बाँसबाट बनाएका मुढा चीन निर्यात हुन थालेको छ । विश्वव्यापी कोरोना सङ्क्रमण फैलिँदा बन्द रहेको रसुवागढी नाका खुलेसँगै कैदीबन्दीले बनाएका मुढाले पनि चीनमा नयाँ बजार पाएको हो ।

रसुवागढी नाका हुँदै कैदीबन्दीले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात भएको भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलले बताए । उनका अनुसार कारागारबाट चार लाख ३२ हजार रुपैयाँबराबरको सात ट्रक मुढा चीनमा निर्यात भएको छ । ‘बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ,’ उनले भने । दुईवटा ब्लकमा रहेका चार सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा बनाउने भएकाले मासिक २६ सयभन्दा बढी मुढा उत्पादन हुने गरेको छ । निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्क्याएर राख्नुपरेको अवस्थामा अहिले निर्यात खुलेपछि तिब्बतबाट माग आउन थालेको उनले बताए । कारागारमा रहेका करिब एक हजार कैदीबन्दीमध्ये चार सय कैदीबन्दीले मुढा बनाउने गर्छन् ।

कैदीबन्दीले हातबाट बनाएका मुढा सङ्कलन गर्न व्यापारी कारागार नै पुग्ने गरेका छन् । बाँसबाट बनाइएका मुढा सस्तो र बलियो हुने भएकाले चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ । चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह