देवीथानमा रातो अबिर चढाउन र रातो कपडा लगाएर जान वर्जित

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १३:५१

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुन्डामा रहेको धार्मिक, पौराणिक एवम् ऐतिहासिक महत्व बोकेको पर्यटकीय सम्भावना रहेको छङ्गम देवीथान अरू देवी-देवता भन्दा फरक रहेको छ । देवीथानमा रातो अबिर चढाउन र रातो कपडा लगाएर जाँदा अशुभ हुने, देवी रिसाउने विश्वास रहेको छ ।

स्थानीयवासी लवाङ ग्याल्वो घलेका अनुसार परापूर्व कालमा आफैँ उत्पत्ति भएको ढुङ्गाको ओडारजस्तो कोप्चेरोमा रहेको छङ्गमदेवी अरू देवीदेवताभन्दा बेग्लै रातो अबिर चढाउन, पसलमा बेच्ने धुप, रातो कपडा चढाउन मिल्दैन । केटी मान्छे एक्लै जान मिल्दैन । त्यस ठाउँ वरपरको रूखसमेत काट्न मिल्दैन । धार्मिक मान्यताअनुसार देवीथाननजिकै वरपर लापरबाही गरेर के हुन्छ त भनेर हेलचेक्र्याइँ गरेमा मानिस बिरामी हुने, त्यस भेगमा बादल लाग्ने, अँध्यारो हुने, त्यहाँका स्थानीय बताउँछन् । देवीलाई सिक्का पैसा र गाईको दूध, चामल, रातो ध्वजाबाहेक चढाइँदैन । पहिले त यस ठाउँमा स्थानीय गुफा बस्नेसमेत गर्दथे । जङ्गलको बीचमा भएकाले देवीको थानले गर्दा बाघ कराउने र गुफाभित्र आउने कारणले गुफा बस्न छाडेको स्थानीय बताउँछन् ।

छङ्गम भनेको लामा र झाँक्रीले तपस्या गरेर बस्ने ठाउँ हो । त्यस ठाउँमा नै देवीको नाम छङ्गम भनिएको भन्ने धर्म ग्रन्थमा उल्लेख छ । डाँडाको बीचमा भएकाले छङ्गम डाँडाको बीचमा भएकाले छङ्गम डाँडा भनिएको स्थानीय त्यस देवीथानको पुजारी लवाङ ग्याल्बो घले बताउँछन् । उनले मात्रै देवीको पूजा गर्न मिल्छ । उनीबाहेक अरूले पूजा गर्न मिल्दैन । स्थानीय तामाङ जातिले परम्परागत रूपमा प्रकृति, वनजङ्गल, हिमाल, डाँडो, खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसार क्षेत्र आदिलाई भगवान् मानेर पूजा गर्दै आएका छन् । रसुवामा तामाङ जातिको गाउँपिच्छे वेशभूषा, रहनसहन, कला, संस्कृति आदिमा अलग-अलग पहिचान भएकाले यी सबैको संरक्षण गर्न सके पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्छ । ती हुन् – जिल्लाको उच्च क्षेत्रमा रहेको गोसाइँकुण्ड, रसुवागढी, तिब्बत सीमा क्षेत्र, लाङटाङ, लिरुङ हिमाल (सात हजार दुई सय ४५ मिटरको उचाइमा) हिमालको र निकुञ्जमा विविध जीव, जनावर, वन, वनस्पति रहेकाले प्रचार-प्रसार गर्न सके बाह्य र आन्तरिक पर्यटकको सङ्ख्या बढ्न सक्छ । यस ठाउँमा गुरु रिम्पोछेको पैतालाका डोब, गुरु रिम्पोछेले राक्षसनी टिमोलाई मारेको ठाउँ, याल्मो यति बस्ने ओडार वेनक्याप बोम्बो थान मुण्डु गुम्बा ज्योमोल्हाङ छोलिङ गुम्बालगायतका थुप्रै धार्मिक क्षेत्रको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सम्पदाको संरक्षण र प्रचार-प्रसार एवम् सेवा सुविधाको व्यवस्था गरेर प्रकृतिप्रेमी पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय आमा समूहकी अध्यक्ष पिंकी लामा बताउँछन् ।

धार्मिक तथा सांस्कृतिक परम्परा र रीतिरिवाजमा प्राकृतिक स्रोत-साधनको महत्वपूर्ण स्थान छ । प्राकृतिक स्रोत–साधनको विनाशले धार्मिक तथा सांस्कृतिक परम्परा तथा रीतिरिवाजमा नकारात्मक असर पु¥याएको लामा बताउँछन् । लाङटाङ क्षेत्र धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उनी बताउँछन् । पर्यटन विकास र आधुनिकीकरणको प्रभावले परापूर्वकालदेखि नै जगेर्ना गर्दै आएको प्रकृृतिसम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवानले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउँछन् । छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ-ठाउँका नामसँग उहिलेका लोककथामा जोडिएका छन् ।