समुन्द्रटार, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय भवनको शुक्रबार उद्घाटन सम्पन्न भएको छ । दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारमा दुई वर्षअघि निर्माण गरिएको भवनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका हुन् ।
भवन मात्रै बनेको र सवारी पार्किङ नभएको कारण बनेको भवन सञ्चालनबारे जनप्रतिनिधिबीच विवाद भएको थियो । यसअघिका जनप्रतिनिधि योविन्द्रसिंह तामाङको कार्यकालमा दुई करोड ४४ लाखमा ठेक्का लगाइएको १८ कोटे भवनको उद्घाटन गरेसँगै यसअघि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिका अब आफ्नै भवनमा सर्ने भएको भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेस सभाका सदस्यद्वय राधिका तामाङ र रामप्रसाद ढुङ्गाना, संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीसहित नुवाकोटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिको सहभगिता रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले जानकारी दिए । नुवाकोटका १२ वटा पालिकामध्ये विदुर, ककनी, तारकेश्वर, बेलकोटगढी र लिखुको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् भने पञ्चकन्या र म्यागङको उद्घाटनको तयारीमा रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।






प्रतिक्रिया