+
Search

ताजा अपडेट +

पपुलर +

खरानीटार-उर्लेनी जोड्ने पक्कीपुल १४ महिनाअगावै सम्पन्न

खरानीटार-उर्लेनी जोड्ने पक्कीपुल १४ महिनाअगावै सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी
  • रामहरि न्यौपाने

विदुर, देशैभरि निर्माण व्यवसायीले सडक र पुल निर्माणको ठेक्का लिने, वर्षौँ नबनाउने प्रवृत्तिले सास्ती पाइरहेका नेपालीलाई ठेकेदारले दुई वर्षमा बनाउनुपर्ने पुल सम्झौता भएको आठ महिनामै निर्माण सम्पन्न गरेको भन्दा आश्चार्य लाग्न सक्छ । नुवाकोट जिल्लाको तादी गाउँपालिका-३ खरानीटारबाट वडा नं. १ को उर्लेनी जोड्ने दोर्खु खोलाको पक्की पुल आठ महिनामा निर्माण सम्पन्न भएको छ । तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खु खोलामा ४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको ६ महिनामै सम्पन्न भएको हो । पुल निर्माणको काम सकिएपछि गत वैशाख २० गतेदेखि नै गाडी चल्न थालेको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष (०८१ असार ३०) भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो । ठाँडो खोला र पानीको बहाबले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको ६ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताए । उनका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको दश महिनामा नै सम्पन्न भयो । गत बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले निर्माण सम्पन्न उक्त पुलको उद्घाटन गरेका थिए । जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताए । ‘विकासको लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिइरहेका छौँ,’ उनले भने, ‘ग्रामीण क्षेत्रको विकास र दुर्गमबाट सुगम यातायातको पहुँचले भिन्नता बनाउने भएकाले निर्माण गरिएको पक्की पुलमा बाह्रै महिना गाडी चलाउन जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउनेछौँ ।’

Suzuki New Bike & Scooter

तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्म पुग्न कच्ची सात किलोमिटरसहित उर्लेनीको मुख्य बस्ती काल्चे र ओख्रेसम्म पुग्ने सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटनको अवसरमा बताए । ४१ मिटर लम्बाइको पुल बनेसँगै पालिकाको केन्द्र खरानीटारबाट प्रभुडाँडा हँुदै उर्लेनी जान अब बाह्रै महिना सहज हुने भएको छ । सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेल, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापासहितका जनप्रतिनिधि, पुल निर्माणको ठेक्का लगाउने पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्य, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईं, तादी गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षले मन्तव्य राखेका थिए ।

पुल निर्माण भएपछि उर्लेनीको प्रसिद्ध कृषि सामग्री उपजलाई बजार पु¥याउन, स्थानीयको दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान र सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सञ्चालन गराउन पक्की पुलले महत्वपूर्ण योगदान पुग्ने तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले बताए । पक्की पुलको निर्माणले गाउँ छाडेर सहर–बजारतर्फ जाने बसाइँसराइ रोक्न, भूकम्पपछि जोखिममा परेको उर्लेनीबाट सुरक्षित स्थानको खोजीमा रहेका पीडितलाई आफ्नै थातथलोमा अड्याउन सकिने बागमती प्रदेस सभा सदस्य राधिका तामाङले सो अवसरमा बताइन् । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार ६ करोड ९९ लाख ३९ हजारमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई पाँच करोड ६२ लाख भुक्तानी दिन बाँकी छ । दुई वर्षमा निर्माण सम्पन्न गर्न भनेर दिएको जिम्मेवारी चौध महिनाअगावै पूरा गरेसँगै सोहीअनुसार बजेट नहुँदा भुक्तानी दिन प्रदेश सरकारलाई समस्या भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह