रसुवागढी जलविद्युत्को उत्पादन मिति सरेको-सह्रै

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार १२:१४

धुन्चे, रसुवा जिल्लाको उत्तरी टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गर्नेको मिति सारेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनामातहत निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजना यस चालू आर्थिक वर्षमा उत्पादन सुरु गर्ने समय तोकेको थियो ।

कम्पनीले अहिले प्राविधिक कारण देखाएर पुनः उत्पादन मिति तीन महिना पछि सारेको छ । १११ मेगावाट क्षमताको नदी प्रवाही आयोजना निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि विद्युत् उत्पादन गर्न सकेको छैन । आयोजनाको तीन महिना म्याद थपिएपछि उत्पादन मिति असोज अन्त्यमा पुगेको छ । ०६८ कात्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति ०७६ पुस १५ मा थियो । तर, ०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सारेर ०७८ असारमा पु¥याइएको थियो । त्यसपछि ०७७ मा आएको भोटेकोसीको बाढीले बाँधलगायत संरचनामा क्षति पु¥याएपछि समयमै आयोजना सक्न कठिनाइ भएको भन्दै कम्पनीले फेरि २०७९ फागुनसम्म उत्पादन मिति सारेको थियो । तर, त्यस मितिमा पनि उत्पादन गर्न नसकेपछि समय लम्ब्याएर ०८० असारमा पु¥याइयो । तर, यस अवधिमा पनि नसकिएपछि अहिले पुनः ३ महिना समय थपिएको छ ।

रसुवागढी आयोजनाबाट ०७८ असारभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहे पनि ०७७ मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पुगेका कारण उत्पादन समय लम्बिएको आयोजना प्रवक्ता नरनाथ न्यौपानेले जानकारी दिए । बाढीले पहुँचमार्गमा क्षति पु¥याएपछि पनि समयमा उत्पादन गर्न नसकिएको उनले बताए ।