करोडौं लगानीमा बनेको जिससको सभाहल प्रयोगमा आएन

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १२:५९

विदुर, जिल्लामा सरकारी, गैरसरकारी र उद्योगी ब्यवसायीले सभा, गोष्ठी, सेमिनारलगायतको कार्यक्रम गर्नुपर्दा होटल तथा पार्टी प्यालेस खोज्नुपर्ने अवस्था नुवाकोटमा रहेको भएपनि करोडौं रूपैयाँको लागतमा बनेको विदुर सभाहल भने प्रयोगबिहिन भईरहेको छ । सभाहल निर्माण भएर जिल्ला समन्वय समिति नुवाकोटलाई सञ्चालन कार्यविधी नै नबनाई सघन शहरी तथा भवन निर्माण आयोजनाले हस्तान्तरण गरेपछि अहिले सभाहल भवन प्रयोगबिहिन भएको छ । विदुर नगरपालिका वडा नं.-४ तल्लो विदुरमा निर्माण सम्पन्न भएको सभाहल भवन एक वर्षपछि जिल्ला समन्वय समितिलाई गत चैतमा हस्तान्तरण गरिएको थियो ।

गत चैत्रमा सम्पन्न जिल्ला समन्वय समिति नुवाकोटको छैटौं जिल्लासभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङको उपस्थितीमा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीलाई सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख सुनिलकुमार ठाकुरले सभाहल सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पञ्चायतकालमा बनेको उक्त सभाहल २०७२ बंैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण गरिएको हो । सभाहलभित्र ३ सय ५८ सिट रहेको छ । भवनमा एउटा ठूलो र अर्को सानो हल रहेको छ । सभाहलमा साना २६ वटा गाडीको लागि अन्डरग्राउण्ड पार्किङ गर्न पुग्छ भने सभाहलको बाहिरपट्टि गार्ड हाउस, स्टोर रुम, क्यान्टिन, गेष्ट रुम, फायर फाइटिङ रुम र पम्प हाउस रहेको छ । ठूलो हलको भुइँमा राखिएका सिट एकनासले राखिएकोले मञ्चमा कार्यक्रम हुँदा अगाडी सिटमा बसेकाले पछिल्लो सिटमा बस्नेलाई छेकिने समस्या रहेको छ । सभाहलको बाहिर घेरावाल पर्खालको पूर्वी भागमा तारले घेर्न बाँकी छ । हलको साउण्डसिस्टम भएपनि त्यसलाई सञ्चालन गर्न तालिम प्राप्त टेक्निसियन आवश्यक रहेको जिल्ला समन्वय समिति नुवाकोटले जनाएको छ ।

यसअघि हल हस्तान्तरण नहुँदै सञ्चालनमा ल्याईएकाले बिजुलीको महशुल धेरै उठेको छ । बिजुलीको बिलको भुक्तानी कसले गर्ने भन्नेमा अन्योल भएपछि जिससले हल जिम्मा लिन मानेको थिएन । उक्त भवन लुम्बिनी÷कोशी एण्ड न्यौपाने÷बन्दन भगवती जेभी काठमाडौंले निर्माण गरेको हो । भवन २०७४ असार २० गते निर्माण ठेक्का भई कोरोनाका कारण म्याद थपपछि २०७८ साउन १९ गते सभाहल सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयलाई बुझाएको थियो । यसको लागत २४ करोड ९५ लाख १ सय ३३ रुपैयाँमा भएपनि ठेकेदारले २२ करोड १९ लाख ७ हजार ८ सय ८२ रुपैयाँ मूल्य अभिबृद्धि करबाहेक ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको आयोजनाले जनाएको छ । सभाहल सञ्चालनको कार्यविधी शहरी विकास मन्त्रालयले बनाएर नदिएकोले हल सञ्चालनमा आएको छैन । कार्यविधी नहुँदा बत्ति, पानी, नियमित सरसफाई तथा मर्मत, सुरक्षा, प्राविधिक ब्यवस्थापन नहुँदा बजेट कसरी ब्यवस्थापन गर्नेमा अन्योल भएको छ । कार्यविधी जिल्ला समन्वयलाई बनाउने अधिकार नभएकोले हलको भाडा तोक्ने, सरसफाई गराउने र प्राविधिक तथा सुरक्षाको लागि कर्मचारी ब्यवस्थापन गर्न सकेको छैन । सभाहल सञ्चालनको लागि सम्बन्धित निकायसँग समन्वय भईरहेको जिसस प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले बताउनु भयो । सभाहलको करिव ६ रोपनी जग्गा जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता छ ।