![](https://trishuliprawaha.com.np/wp-content/uploads/2023/05/Ayurved-Sewa-Janastharma-Puraedai-Naya-Bhawanma-Pradesh-Hospital-Banauna-Pahal.jpg)
विदुर, प्रदेश सरकार अन्र्तगत सञ्चालन भईरहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र नुवाकोटले जिल्लाभरी आयुर्बेद सेवालाई बिस्तार गर्न लागिपरेको छ । केन्द्रले शुक्रबार स्थानीय पत्रकारसँग आयुर्बेद सेवाको प्रवद्र्धन गर्न अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले आयुर्बेद सेवालाई जिल्लाभरी प्रवद्र्धन गर्न जनस्तरमा कार्यक्रमसहित जाने बताउनु भयो । आयुर्बेदको महत्वको बारेमा जिल्लाबासीलाई बुझाउन नसंक्दा आयुर्बेद सेवा प्रभावकारी हुन नसेका समेत उहाँले स्विकार्नु भयो । आयुर्बेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिरहेको सेवाको बारेमा जानकारी गराउँदै अध्यक्ष खड्काले जिल्लाको ढिकुरे, नर्जामण्डल, रालुका, सुन्दरातामे, थानसिंह, तारूका र खनायेखर्कमा आयुर्बेद औषधालय रहेको बताउनु भयो । विदुर नगरपालिका वडा नं.–५ को तल्लो पिपलटार नवनिर्मित भवनमा प्रदेश आयुर्बेद औषधालय तथा अस्पताल सञ्चालनको लागि पहल भईरहेको समेत उहाँले बताउनु भयो । प्रदेश अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधार रहेकोले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र अन्य सरोकारवालासँग प्रस्तावसहित छलफल गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाकै युवा नेता वाग्मती प्रदेशसभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं आर्थिक मामिला तथा योजना मन्त्री लामाले प्रदेश अस्पताल सञ्चालनको लागि आगामी बजेटमा राख्ने आश्वासन दिएको समेत उहाँले बताए । १४ रोपनी जग्गामा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रको भवन हिमदुङ एण्ड थोकर÷बिएम जेभीले निर्माण गरेको हो । २०७८ असारमा सम्झौता गरेर २०८० असारसम्म निर्माण गर्नुपर्ने उक्त भवन २०७९ चैत्र महिनामै निर्माण सम्पन्न भएर हस्तान्तरणका प्रक्रियामा रहेको छ । उक्त निर्माण सम्पन्न भवनमा औषधालय तथा अस्पताल एवं आयुर्बेद कलेज सञ्चालन गर्न पुग्ने कोठा रहेको छ । सो भवन अहिले सञ्चालनमा रहेको आयुर्बेद स्वास्थ्य केन्द्रले प्रयोग गर्न नै नसक्ने स्थानीयले बताएका छन् ।
आयुर्बेदलाई जनस्तरसम्म पु¥याउन स्थानीय पत्रकारसँगको अन्तरक्रियामा आयुर्बेद सेवाको महत्व दिनप्रति दिन बढ्दै गईरहेको बारेमा नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री तिवारी, नेपाल पत्रकार महासंघ नुवाकोटका सभापति कपिलदेव खनाल, विदुर नगरपालिका वडा नं.–५ का अध्यक्ष एवं जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका सञ्चालन ब्यवस्थापन समितिका सदस्य लिलानाथ न्यौपानेले बताउनुभएको थियो । उहाँहरूले आयुर्बेद सेवालाई जिल्लाभरी बिस्तार गर्न सुझाव दिंदै १२ वटै पालिकाका प्रमुख र कार्यपालिका बोर्डमा छलफल गर्नुपर्ने बताए । कार्यक्रममा आयुर्बेद स्वास्थ्य केन्द्र देविघाटले जिल्लामा प्रदान गरिरहेको बिस्तृत सेवाको जानकारी बैद्य निरीक्षक नारायण वस्तीले दिनुभएको थियो । आयुर्बेद पद्धति अपनाउँदा दिर्घजीवन बाँच्न सकिने उहाँले बताउनु भयो । २०५३ सालमा नुवाकोटको ढिकुरेमा स्थापना भएर सञ्चालन गरिएको स्वास्थ्य केन्द्र २०५८ देखि देविघाटमा औषधालयसहित स्थानान्तरण गरिएको थियो । ‘‘स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षा र रोगी ब्यक्तिको रोगको उपचार’’ भन्ने आयुर्बेदको मूल उद्देश्यलाई आत्मासात गर्दै जिल्लास्तरीय आयुर्बेद स्वास्थ्य केन्द्रको हैसियतमा यसले सेवा प्रवाह गरिरहेको छ ।
नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति आयुर्बेद हो । आयुर्बेदलाई पुस्तौंदेखि नेपालीले आफ्नो स्वास्थ्य रक्षा, सम्वद्र्धन एवं उपचारका लागि स्थानीयस्तरमा उपलब्ध जडिबुटी तथा आयुर्बेद चिकित्सा पद्धतिको प्रयोग गर्दै आईरहेका छन् । अहिले पनि नसर्ने रोगको प्रकोप बढ्दै गएकोले आयुर्बेद, योग, पञ्चकर्मलगायत चिकित्सा पद्धति प्रभावकारी बन्दै माग बढिरहेको वैद्य निरीक्षक वस्तीले बताउनु भयो । आयुर्बेदिय जीवनशैली, योग, प्राणायाम महत्व र आयुर्बेदिक औषधीको प्रयोग बढाउन सके औषधीको परनिर्भरता घटाउन मद्दत पुग्ने समेत उहाँले बताउनु भयो ।