राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण गर्ने तयारी

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:३८

विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट मात्रै वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब वडाबाट वितरण गर्ने तयारी भईरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना गरेको राष्ट्रिय परिचयपत्र जिल्लास्तरीय अन्तरक्रियामा गाउँपालिका र नगरपालिका जनप्रतिनिधीलाई उक्त जानकारी गराएको थियो ।

विभागका निमित्त महानिर्देशक सर्सुबहादुर खत्रीले १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य जेठ महिनाभित्रै वडास्तरबाट शुरू गर्ने बताउनु भयो । नुवाकोटमा १२ स्थानीय तह र ८८ वडा रहेका छन् । राष्ट्रिय परिचयपत्रले दोहोरो नागरिकता र राहदानी लिन निरुत्साहित हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो । नुवाकोटमा हालसम्म ३७ हजार ५ सय ८६ जनाले राष्ट्रिय परिचयपत्र लिएको विभागले जानकारी दिएको छ । वडास्तरबाट राष्ट्रिय परिचयपत्रको लागि ४० जना कर्मचारी परिचालित हुने विभागले जनाएको छ ।