विनपा वैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र तयारीमा

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:४२

विदुर, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा २ मा ब्यवस्था भएअनुसार विदुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका श्रमशक्तिका सूचना संकलन गरी वैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र तयार गर्ने भएको छ ।

पालिका क्षेत्रबाट वैदेशिक रोजगारमा रहेका फर्किएका वा त्यसका कारणले समस्यामा परेका, वैदेशिक रोजगारका वर्तमान अवस्था पहिँचान गरी उक्त समस्या तथा सवालको समुचित ढंगले सम्बोधन गर्ने उद्देश्यले विवरण लिने प्रयोजनका लागि नगरपालिकाको प्रत्येक वडामा एक÷एक जना गणक खटाएको छ । गणकले हरेक घरमा पुगेर वैदेशिक रोजगारसँग सम्बन्धित रहेर उनीहरुको अवस्था, सिप तालिम लिए÷नलिएको, फर्किएकाको सिप पुँजी तथा उनीहरुले पालिका वा अन्य क्षेत्रबाट चाहेको सहयोगका क्षेत्रका विषयमा जानकारी लिनेछन् । तथ्याङ्क संकलनका लागि खटिने गणकलाई दुई दिने अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्रमा पठाएको छ । कार्यक्रममा आफ्नो धारण राख्नुहँुदै विदुर नगरपालिका नगरप्रमुख राजन श्रेष्ठले तथ्याङ्क सही र यथार्थ ल्याउन निर्देशन दिनुभयो ।

तथ्याङ्क यथार्थ हुन नसंक्दा विदुर नगरपालिकाले लिएको लक्ष्य वा उद्देश्य प्राप्त नहुने र नीति कार्यक्रमलाई पनि असर गर्ने भएकोले त्यसमा विशेष ध्यान दिनुपर्ने बतानुभयो । घर, वस्ती, टोलमा गएर तथ्याङ्क संकलन गर्ने क्रममा कुनै समस्या आईपरेमा वडा कार्यालय वा नगरपालिका समाधान गर्न तत्पर रहेको जानकारी दिनुभयो । सम्बोधनकै क्रममा प्राप्त तथ्याङ्कको प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नीति तथा कार्यक्रम तयार गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख प्रभा बोगटीले वैदेशिक रोजगार हाम्रो रहर नभई बाध्यात्मक विकल्प रहेकोले यस क्षेत्रलाई ब्यवस्थापन गर्न विदुर नगरपालिका लागिपरेको बताउनुभयो । विदुर नगरपालिकाकाले वैदेशिक रोजगारलाई थप ब्यवस्थित बनाउन र वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगका लागि पालिकाले विशेष काम गरिरहेको जानकारी दिनुभयो ।